काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार महत्वपूर्ण छलफल भइरहेको छ । प्रधानमन्त्री कार्कीले दिउँसो आफ्नो सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूलाई बोलाएर छलफल सुरु गरेकी हुन् ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि बैठकमा उपस्थित रहेको उनको सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार छलफलको मुख्य एजेन्डा आगामी निर्वाचनको वातावरण निर्माण, राजनीतिक स्थायित्व, सरकार सञ्चालनका समसामयिक चुनौती तथा राष्ट्रिय सहमतिका विषयहरू रहेका छन् । पछिल्लो समय मुलुकको राजनीतिक परिस्थिति अस्थिर बन्दै गएको र विभिन्न दलबीच अविश्वास बढ्दै गएकाले शीर्ष तहमा संवाद आवश्यक भएको भन्दै प्रधानमन्त्री कार्कीले यो बैठक आह्वान गरेकी हुन् ।
यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रमुख दलका नेताबीच संवाद भएको थियो । तर ती छलफलहरूबाट ठोस निष्कर्ष ननिस्किएपछि प्रधानमन्त्री स्वयंले पहल गर्दै शीर्ष नेताहरूलाई एउटै टेबलमा बस्न आग्रह गरेकी हुन् ।
छलफलबाट सहमतिको कुनै ठोस बिन्दु बाहिर आउने वा आगामी राजनीतिक कार्यदिशाबारे साझा धारणा बन्ने अपेक्षा गरिएको छ । बैठक जारी रहेकाले थप निर्णय र निष्कर्ष पछि सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



















प्रतिक्रिया