नेपालगन्ज ।
हुरीमा पनि जीवनगीत गुनगुनाइरहनेछु
झरीको पनि यात्रागान सुनाइरहनेछु
आफ्नै तरंगहरूदेखि भागिहिड्ने छैन
मर्न तयार हुनेछु, तर माटो छोड्ने छैन
एकदिन रुख हुनेछु ।
… … …
कवि बीपी अस्तुले नेपालगन्जमा आयोजित अन्तरालको कविता वाचन कार्यक्रममा आत्मानुभूति प्रधान कविता ‘एकदिन रुख हुनेछु’ वाचन गर्दै गर्दा हलमा खचाखच भरिएका साहित्यानुरागी एकाग्र भएर सुनिरहेका थिए ।
नेपालगन्जस्थित वेस्टर्न मार्टको दोस्रो तल्लामा रहेको एउटा हलमा भुईमा बिछ्याइएको सेतो तन्नामाथि पलेटीमा बसेका थिए–नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिस्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलगायत पाँच सय रुपैयाँको टिकट लिएर कविता सुन्न आएका बाँके बर्दियाका साहित्यानुरागीहरु । काठमाडौंबाट सन्जोगले नेपालगन्ज आइपुगेका कवि नवराज लम्साल र सुर्खेतबाट आइपुगेका थिए यसैवर्षको जगदम्बाश्री पुरस्कारले पुरस्कृत वरिष्ठ संगीतकर्मी प्रेमदेव गिरी पनि पलेटीमै बसेर कवितामा झुमिरहेका थिए । मन्चमा संगीतकर्मीहरुसहित कवि प्रस्तुत भएका कवि विपी अस्तुले कार्यक्रमको सुरुमै भने, ‘यो मेरो हजुर आमाको समयको प्रेमकहानी हो’ । अनि हार्मोनियम, गितार र बाँसुरीको धुनमा सुनाए कविता, ‘हामी त पिरती लाउथ्यौँ ।’
नेपालगन्जमा कुनै कविको पार्श्वसंगीतसहित टिकटमा एकल कविता वाचन भएको पहिलो कार्यक्रममा प्रस्तुत भएका कवि बीपी अस्तुका कवितासँगै सहभागीहरु पनि मुस्कुराए, रोए, एकाग्रतामा पुगे । अन्तरालले आयोजना गरेको पार्श्वसंगीतसहित कविता प्रस्तुतिको कार्यक्रममा अस्तुले रोजगारीका लागि परदेशिनुपर्ने पीडामाथि लेखेको कविता ‘नखस्नु’ सुनाउँदा आफूलाई सम्हाल्न सकेनन् । उनले उक्त कविता वाचन गरिरहँदा हलभरी पनि सुक्क सुक्कको आवाज गुन्जिरहेको थियो ।
अस्तुले परदेशिन नसकेका युवाहरुको अनूभुतिमाथि लेखेको ‘थुप्रै कारण’ र सन्तान परदेशिएका अभिभावकको अनूभुतिमाथि लेखेको ‘बिर्सेछौँ’ शिर्षकको कविताको भावमा पनि दर्शकस्रोताहरु एकाकार भएको देख्न सकिन्थ्यो । कवि अस्तुले ऋग्वैदिक नारी ऋषि वागाम्भृणिलाई बिम्ब बनाएर अहिलेका नारीहरुको भोगाईलाई प्रस्तुत गरेको कविता ‘वागाम्भृणि’ले आफूहरुलाई उद्धेलित बनाएको सहभागीहरुले बताए ।
‘आत्मबन्दी’ ‘गन्तव्य’ कविता सुनाउँदा दर्शकस्रोताहरु एकाग्रपूर्ण भएर कविता सुने । उनले आफैलाई आलोचना गरेको भने सुनाएको ‘डरपोक समय’ कवितामा भने,
…
म इतिहासकै डरपोक समय
जब जब डर लाग्यो मैले चिच्याएर कसैको जयगान गाएँ
सुरक्षा खोज्दै राक्षसको शरणमा पुगेँ
… …
यस्तै ‘डिप फेक’ मा उनले वर्तमान समयको दुर्बलतामाथि बोले भने प्रेमकल्प’ र ‘दाग’ कवितामा प्रेमिल भएर प्रस्तुत भए । उनले पर्यावरण ह्रासको समस्यामाथि लेखिएको पानीको चेनावनी कवितामा भने,
… …
ए मान्छे
तैले कहिल्यै तेरो डिएनएलाई सन्चो बिसन्चो सोधेको छस् ?
उसका आँखाहरूलाई प्यास लागेको पो छ कि ?
तेरो मरुभूमिमा रुपान्तरित मस्तिष्कले जन्माएको
घमण्डका क्याक्टसबारे तेरो के धारणा छ ?
… …
कवि अस्तुले पर्यावरण ह्रासकै समस्यामाथि लेखेको कविता ‘बिन्दु’ र नेपालगन्जको एक सीमान्तकृत समुदायको समस्यामाथि लेखिएको ‘अनिदो जीवन’ शिर्षकको कविता पनि कार्यक्रममा सुनाए ।
कविता सुनिसकेपछि कवि लम्सालले भने, ‘अहिले कविता कि वस्तुवादी भएर लेखिएका छन् कि आत्मगत भएर । बीपीले सुनाएका कवितामा वस्तुवादी भएर पनि आत्मगत चिन्तनको गहिरो अनुभूति मिसिएको पाएँ । हाम्रो आयु एक वर्ष बढाइदिएकोमा बीपी तिमिलाई धन्यवाद ।’
वरिष्ठ सँगीतकर्मी गिरीले आफूले संगीतका धेरै कार्यक्रममा सहभागिता जनाएपनि अन्तरालको कार्यक्रम शब्द र संगीतको बेजोड संगमको रुपमा उत्कृष्ठ कार्यक्रमको रुपमा पाएको बताए ।
साहित्यकार ऋचा लुईँटेलले भनिन्, ‘अस्तुका कविता सुनिरहँदा आफै कविताको भावमा आफूपनि एकाकार भएको जस्तो लाग्यो । कविताका पात्रहरुजस्तै आफूपनि भोक्ता भएको हुनाले झनै मलाई मनसम्मै छोएको अनूभुति भयो ।’
लेखक नरेन्द्रजंग पिटरले भने, ‘आज कविता नसुन्ने भन्ने ठानिनेहरुले पनि पूरा समय बसेर कविता सुने । अन्तरालले बीपीलाई सुन्ने मन्च दिएर जरुरी काम गरेको छ ।’
डेढ दशक बढी समयदेखि सन्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था अन्तरालले करिब डेढ दशकपछि पलेटीँमा बसेर साहित्य र संगीत श्रवण गर्ने कार्यक्रम आयोजना गरेको हो । यसअघि साहित्यकै गजल विधामा भोजराज शर्मा नादिरका गजल गायनको कार्यक्रम गरेको अन्तरालले कवितामा पार्श्वसंगीतको पहिलो कार्यक्रम गरेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘अब यस्तो कार्यक्रमको आयोजनालाई निरन्तरता दिनेछौँ । अहिले एआईले गीत गाउने समयमा कवि र संगीतकर्मीहरुलाई आँखैअघि बसेर पलेटीमा सुन्ने कार्यक्रम अर्थपूर्ण र प्रभावकारी हुनेछ भन्ने हाम्रो विश्वास छ,’ शाहले भने ।
बीपीलाई पार्श्व सांगितमा गायक महेन्द्र सेडाई, तबलामा अनुभव अधिकारी, हमिङमा भोकलिष्ट सुरज घिमिरे, गितारमा रेनिस सेडाई, बाँसुरीमा समराज पोखरेल लगायतले साथ दिएका थिए ।
अन्तराल शृङ्खला अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भईरहेको शाहले बताएका छन् । ’कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा स्रोताहरुले मन पराउने हाम्रो विश्वास छ,’ अन्तरालका प्रमुख कार्यकारी शाह भन्छन्, ‘अन्तरालको यो मंचमा आगामी महिनाहरुमा कला, साहित्य, सगीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ ।’


















प्रतिक्रिया