काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरुले निर्वाचन आयोगमा पुगेका आफ्नो आधिकारिकता दाबी गरेका छन् ।
विशेष महाधिवेशन गरेर आफु निर्वाचित भएको कार्यमितिलाई मान्यता दिन गगन थापा पुगेको भोलिपल्टै देउवा समूहका नेताहरु पनि आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आयोग पुगेका हुन् ।
कार्यबहाक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु र जिल्ला सभापतिहरुसहित ठूलो संख्यामा कांग्रेसी नेताहरुले आयोगका पदाधिकारीहरु सामु आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी पेश गरे ।
खड्काले विशेष महाधिवेशनमा सहभागी भएका भनिएका महासमिति सदस्यहरुमध्ये ८८५ जनाले पहिले गरेको हस्ताक्षर फिर्ता लिएको जानकारी सहितको पत्र पार्टी कार्यालयमा दर्ता गराएको बताए । उनले ती पत्रसहित सबै आधिकारिक डकुमेन्टहरु आयोगलाई बुझाउन लागेको बताए ।

नेता शेखर कोइरालाले आफुहरु यहाँ आउनै नपर्ने भए पनि मिडियामा आधिकारिकताको अनावश्यक चर्चा चलेपछि आउन बाध्य भएको जिकिर गरे । उनले कुनै पनि पदाधिकारीले आफुखुशी विशेष महाधिवेशन बोलाउन नसक्ने बताए । उनले आधिकारिक कांग्रेस आफुहरु ने भएको दाबी गर्दै दुई तिहाई भन्दा बढी केन्द्रीय सदस्य, महासमिति सदस्य, नेता कार्यकर्ताहरु आफुहरुसँगै रहेको जिकिर गरे ।
कार्यबहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले संविधान, निर्वाचन ऐन र स्थापित विधि प्रक्रिया भन्दा बाहिर गएर कुनै निर्णय नगर्ने बताए । उनले आयोगले राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्ने स्थापित परम्परा समेत भएको जानकारी दिए । उनले आयोगलाई आधिकारिकतासम्बन्धी दस्तावेजहरु बुझाउन आग्रह गरे । आफुहरुले दुवै पक्षले पेश गरेका आधिकारिकतासम्बन्धी दस्तावेजलाई सुक्ष्मढंगले अध्ययन गर्ने उनले बताए ।
आयोगका पदाधिकारीहरुसँग भेट्न भने नेताहरुसहित केन्द्रीय सदस्यहरुलाई मात्र कार्यालयभित्र प्रवेश दिइएको थियो । स्थान अभावका कारण अन्य नेता कार्यकर्ताहरुलाई बाहिरै बस्न प्रहरीले माइकिङ गरेर अनुरोध गरेको थियो ।


















प्रतिक्रिया