बुटवल । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको हो ।
रुपन्देहीमा निर्वाचनको तयारी तीव्र पारिएको जनाउँदै जिल्ला निर्वाचन कार्यालयले सबै क्षेत्रमा आवश्यक संरचना र जनशक्ति परिचालन गरिएको जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय देवदह नगरपालिकाको शितलनगरस्थित बहुउद्देश्यीय भवनमा स्थापना गरिएको छ । उक्त क्षेत्रमा कपिल पौड्याल निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका–११ स्थित वडा कार्यालयको नयाँ भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षत्र नम्बर २ का लागि निर्वाचन अधिकृतका रूपमा राजेन्द्र न्यौपानेलाई पठाइएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भैरहवास्थित बाल मन्दिरमा स्थापना गरिएको छ । ३ नम्बरको निर्वाचन अधिकृतको जिम्मेवारी मुख्य निर्वाचन अधिकृत अशेक कुमार बस्नेतलाई तोकिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिका–मझगाँवामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ, जहाँ टोपबहादुर विष्ट निर्वाचन अधिकृतका रूपमा खटिएका छन् । निर्वाचन क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका–३ को वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त क्षेत्रमा गोपीकृष्ण रेग्मी निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी पाएका छन् ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचनलाई राजनीतिक दलहरूको उत्सवका रूपमा चित्रण गरे । उनले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग र राज्यका सबै संयन्त्रहरू सक्रिय रूपमा लागिपरेको जानकारी दिए । उनका अनुसार जिल्लाभर निर्वाचनको तयारी तीव्र गतिमा अघि बढाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा २०९ वटा मतदान स्थल र ७३२ वटा मतदान केन्द्र रहनेछन् । जिल्लामा कुल ६ लाख ७२ हजार ५२३ जना मतदाता रहेका छन् । तीमध्ये ३ लाख २६ हजार ३११ जना महिला, ३ लाख ४६ हजार २०३ जना पुरुष र ९ जना अन्य मतदाता रहेका मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।
निर्वाचन कार्यतालिकाअनुसार फागुन ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । फागुन ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ भने फागुन ८ गते उजुरीमाथि जाँचबुझ गरी बेलुका ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । फागुन ९ गते उम्मेदवारी फिर्ता लिने र उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ । फागुन २१ गते मतदान हुने तय भएको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका सबै सुरक्षा निकाय परिचालित गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए । उनले उम्मेदवार, कर्मचारी र मतदाताको सुरक्षालाई ध्यानमा राखी प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाइएको बताए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न जिल्लास्थित सबै राजनीतिक दल र सरोकारवालालाई अपिलसमेत गरेका छन् ।


















प्रतिक्रिया