१९ माघ २०८२, सोमबार | February 2, 2026

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’



मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । यहाँका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ ।

अक्सर यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाखरजेठ र कात्तिक/मङ्सिर महिनामा हुने गरेपनि यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा भएको हो । जिल्लामा हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक र मङ्सिर महिनामा बेसी झरेर चैतरवैशाख महिनामा गर्मी सुरु भएपछि उकालो उक्लिने परम्परा छ । घोषित निर्वाचनलाई सफल पार्नुपर्ने दायित्व सरोकारवाला निकायको काँधमा छ ।

यहाँका कतिपय मतदाता पोखरा र काठमाडौं लगायतका स्थानमा अस्थायी बसोबास गरेका छन् । मुस्ताङमा बर्सेनि हिउँदयाममा जाडो छल्न बेसी झर्ने पुख्यौली परम्परा र संस्कृतिको रुपमा चल्दै आइरहेको छ । मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरेकाले यहाँको दलहरुको निर्वाचन गतिविधिमा कमी आएको हो । जिल्लास्थित नेपाल–चीन सीमावर्ती गाउँपालिका अन्तर्गत लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८० प्रतिशत मतदाता मङ्सिर महिना अगावै जाडो छल्न बेसीमा झरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

आसन्न निर्वाचन नजिकिँदै गरेपनि मतदाता बेसीमै रहेकाले जिल्लामा निर्वाचनको सरगर्मी नतातिएको अध्यक्ष विष्टको भनाइ छ । यतिबेला माथिल्लो मुस्ताङका मतदाता मात्रै होइन तल्लो मुस्ताङका करिब ५० प्रतिशत भन्दा बढी मतदाता जाडो छल्न बेसी झरिसकेका छन् । पर्यटकीय ‘अफसिजन’ र कतिपय किसान स्याउ बगैँचा व्यवस्थापन सकेर तल्लो क्षेत्रका मतदाता बेसीमा झरेका हुन् ।

आसन्न निर्वाचनका लागि दुई साताअघि विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयपत्र दाखिला गरेपनि उम्मेदवार र राजनीतिक दलको निर्वाचन प्रचारप्रसार लगायतका गतिविधि सुस्त छ । जिल्लामा मतदाता कम भएपछि राजनीतिक दलका उम्मेदवार मतदाता खोज्न बेसीमा झरिसकेका छन् । तर, यहाँ स्थानीय मतदाता र राजनीतिक दलका उम्मेदवार नभए पनि स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आफ्नो आन्तरिक निर्वाचन तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीको व्यवस्थापन र तालिम अगाडि बढाएको र जिल्लास्थित सुरक्षा समितिले मतदान केन्द्र तथा मतदानस्थलको निरन्तर अनुगमन गरिरहेको बताए । यहाँ निर्वाचनका लागि निर्वाचन सुरक्षा योजना तयार भइसकेको निर्वाचन अधिकारी ज्ञवालीले उल्लेख गरे ।

जिल्लाका अधिकांश मतदाता यतिबेला पोखरा र काठमाडौं लगायतका स्थानमा रहेकाले निर्वाचनको मितिमा मतदातालाई जिल्ला फर्काउन समस्या रहेको राजनीतिक दलका प्रतिनिधि र उम्मेदवार बताउँछन् । निर्वाचन कार्यतालिका रहेपनि जिल्लाका कतिपय मतदाता निर्वाचनको समयमा जिल्ला फर्किन तयार छैनन् ।

फागुन महिनामा पनि मुस्ताङमा चिसो कायमै रहने भएकाले यहाँका मतदाता वैशाख महिनामा मात्रै जिल्ला फर्किने योजनामा छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले आफू र आफ्नोतर्फबाट निर्वाचन प्रचारप्रसारको काम सुरु गरिनसकेको जानकारी दिए । हिमालका मतदाता बेसीमा रहेकाले बेसीमै बसेर मतदातासँग सामान्य रुपमा भेटघाट गरेको बताए ।

‘मुस्ताङमा जाउ सुनसान छ, सबै मतदाता बेसीमै हुनुहुन्छ, उम्मेदवार उनले भने, “मतदाता जिल्लामा नफmर्किएसम्म जिल्लामा निर्वाचनको सरगर्मी चल्दैन, यसैले फागुन लागेपछि मात्रै जिल्ला फर्किएर प्रचारप्रसारमा जुट्छु होला ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दर्ता गराएका अर्का उम्मेदवार अधितीयचन्द्र थकाली पनि जिल्लाका मतदाता भेट्न बेसी झरेका छन । जिल्ला मतदाता जिल्ला बाहिर भएकाले बेसीमा बसेर भेटघाट गरिहेको बताए । “मतदाता कहाँ बस्नुहुन्छ पहिल्याउनै मुस्किल छ, तैपनि फोन सम्पर्क गरेर मतदाता बसेको ठाउँमा पुग्ने प्रयास गरेका छौँ, उनले भने, “जिल्लाको समसामयिक समस्या र पार्टीको एजेन्डाका बारेमा मतदातालाई जानकारी गराउने र मत माग्ने काम गरिरहेका छौंँ ।”

जिल्लाका समस्या र चुनौतीलाई सावधान गर्न पहल गर्ने, उम्मेवार र पार्टीका नीति तथा कार्यक्रम र घोषणापत्र एजेन्डाहरु यहाँका दुरदराजका गाउँ-गाउँमा पुगेर जनता समक्ष प्रस्तुत गरी मतदाता आफूतिर आर्कर्षित गर्ने समय भए पनि जिल्लामा केही मतदाता जिल्ला बाहिर रहेकाले निर्वाचन प्रचारप्रसारमा समस्या रहेको नेकपा (एमाले) बाट उम्मेदवारी दिएका ईन्द्रधारा ढाडु विष्टले जानकारी दिए । जिल्लाका मतदाता बेसीमा को कहाँ बस्छन् भने खोज्दै हिँड्नु परेको बताए ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ जिल्लाको निर्वाचन प्रचारप्रसारका लागि काठमाडौं पुगेको बताए । जिल्लामा मतदाता नभएकाले बेसीमै बसेर जिल्लाका मतदाता भेटेर मत माग्ने काम गरिरहेको उल्लेख गरे । “जिल्लामा गएर निर्वाचन प्रसार गरौँ भने उता कोही छैनन्, बरु यतै समाजघर र मुस्ताङी बस्ने ठाउँ खोजीखोजी भोटको अपिल गरिरहेको छु, उनले भने, “फागुन लागेपछि विस्तारै मतदाता जिल्ला फर्किन थाल्छन्, त्यसपछि जिल्ला फर्किएर निर्वाचनको प्रचारप्रसार गर्छु ।”

जिल्लामा आठ राजनीतिक पार्टीहरुले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल ,आम जनता पार्टीले उम्मेदवारी दिएका छन् ।

जिल्लाका बेसी झरेका मतदातालाई जिल्ला फर्काएर मतदान कार्यक्रममा उपस्थित गराउन राजनीतिक दलका उम्मेदवारलाई हम्मे पर्ने देखिन्छ । जिल्लाका पाँच स्थानीय तहमा गरी कूल ११ हजार ३२८ जना मतदाता छन भने मतदानका लागि ३९ मतदान केन्द्र तथा मतदानस्थल कायम भएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ८ : ४७ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका