नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का युवा उम्मेदवार शुधान्सु कोइरालाले जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । मुलुकमा बढ्दो भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै गर्दा जेन–जी आन्दोलनमा कलिला नानी(बाबुहरुले सहादत प्राप्त गरेको स्मरण गर्दै उनले भने, ‘जेन–जी आन्दोलनमा युवा भाई(बहिनीले बगाएको रगत म कदापी खेर जान दिने छैन, उहाँहरुको भावनालाई समेटेर सधैंभरी सडक र सदनमा आवाज उठाउनेछु ।’
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई बिहीबार (आज) सम्बोधन गर्दै युवा उम्मेदवार कोइरालाले जेन–जी भाईबहिनीहरुको भावना अनुसार आफूले सडक र संसदमा सधैंभरी आवाज उठाइरहने बताए । ‘हरेक दिन मैले भ्रष्टाचारका विरुद्ध आवाज उठाउनेछु, हजुरको भतिजो, छोरा, भाई अहिले जुन अवस्थामा छु, भोलि पनि यस्तै हुनेछु ।’ बाँके क्षेत्र नम्बर २ स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र भएको हुँदा यहाँका आमकाँग्रेस कार्यकर्ताले गर्व महसुस गर्ने गरेको उम्मेदवार कोइरालाले बताए ।
सादगी नेता, नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाले जस्तै आफूले पनि सधैं शिर ठाडो पारेर हिँड्ने प्रतिवद्धता जनाए । ‘जसरी मेरो ठूलो बुवा सुशील कोइराला, मेरो पिता स्वर्गीय डा। अरुण कोइराला र मेरो आमा किरण कोइरालाले सादगी जीवन बिताउनुभयो, तर कतै उहाँहरुले औला उठाउन दिनु भएन, दाग लगाउनु भएन,’ उनले भने ‘म पनि त्यसरी नै उहाँहरु जस्तै शिर ठाडो पारेर हिँड्नेछु ।’
आफूले स्वर्गीय कोइरालाको जस्तै सधैंभरी सुशासनको पक्षमा काम गर्ने र कसैको पनि शिर झुक्न नदिने प्रतिवद्धता दोहोर्याए । आफू नेपाली कांग्रेसका कार्यकर्ता र आम बाँकेबासीको सेवक भएर काम गर्ने बताए । सांसदमा निर्वाचित भएपछि नीति निर्माणको कामसँगै बाँकेको विकासका लागि नेतृत्वकारी भूमिका निभाउने दृढता व्यक्त गरे । उनले अबको २१ दिनसम्म दिनरात खटिएर नेपाली कांग्रेसलाई विजयी गराउन सबैलाई अपील गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले नेपाली कांग्रेसले शुधान्सु कोइराला जस्तो उर्जावान युवालाई उम्मेदवार बनाएको बताए । ‘शुधान्सु कोइराला आफ्नो उर्जावान समयमा सबै कुरा त्यागेर राजनीतिबाट सेवा गर्न सक्छु भनेर आएको व्यक्ति हुन्,’ उनले भने ‘यिनी कोइराला परिवारबाट आएको व्यक्ति मात्र होइनन् ।’ नेपाली कांग्रेस निर्वाचन जित्ने मुखमा रहेको भन्दै उनले सबै जनालाई सक्रियतापूर्वक लाग्न आग्रह गरे ।
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा सभापति जगदिश बर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, महासमिति सदस्य एवम् लुम्बिनी प्रदेश सभाका सांसद माया पुन, नेपाली कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

















प्रतिक्रिया