काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल तथा उम्मेदवारले आफ्नो निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न नपाउने गरी कडाइ गरेको छ।
धातु, काठ वा अन्य सामग्रीबाट बनेका सक्कली घण्टी, डोजर, खुकुरी जस्ता वस्तु प्रदर्शन गर्दै प्रचार गर्ने कार्य आचारसंहिताविपरीत हुने आयोगले स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी सूचनामा “आम जनमानसको सुरक्षामा असर पर्ने गरी कुनै पनि प्रकारका भौतिक निर्वाचन चिह्न प्रयोग गर्न पाइने छैन” भनिएको छ। आचारसंहिता उल्लंघन गरेमा तत्काल कारबाही गरिने चेतावनी पनि आयोगले दिएको छ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले देशका विभिन्न स्थानमा घण्टी बजाउँदै प्रचार गरेको विषयलाई लिएर व्यापक गुनासो आएपछि आयोगले यस्तो निर्णय गरेको हो। रास्वपाको निर्वाचन चिह्न ‘घण्टी’ भएकाले सोही चिह्नको सक्कली स्वरूप प्रयोग गरिएको भन्दै अन्य दलहरूले आपत्ति जनाएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विज्ञप्ति नै जारी गर्दै “रवि लामिछानेका कार्यकर्ताले घण्टी बजाउँदै हिँड्दा आयोग मौन बसेको भन्दै असन्तुष्टि जनाएको थियो ।
आयोगको पछिल्लो निर्णयसँगै अब कुनै पनि दलले आफ्नो चुनाव चिह्नलाई सक्कली भौतिक वस्तुका रूपमा प्रयोग गर्न पाउने छैनन्। झण्डा, पोस्टर, पर्चा र स्वीकृत प्रचार सामग्रीमार्फत मात्रै प्रचार गर्न निर्देशन दिइएको छ।
निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला आयोगले सुरक्षा र आचारसंहिताको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै यस्तो कदम चालेको जनाएको छ।



















प्रतिक्रिया