बुटवल । समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र पूर्वाधार विकासप्रतिको प्राथमिकताका आधारमा चिनिने नेतामध्ये विष्णुप्रसाद पौडेल अग्रपंक्तिमा देखिन्छन् ।
चार दशकभन्दा लामो राजनीतिक यात्रामा उनले संघर्ष, संगठन र शासन सञ्चालनका विविध आयाम अनुभव गरेका छन् । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा रुपन्देही–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
संघर्षको पृष्ठभूमिबाट राष्ट्रिय नेतृत्वसम्म
स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल २०३५ देखि २०४६ सम्म भूमिगत राजनीतिमा सक्रिय रहे । २०३७ सालको गिरफ्तारी र भैरहवा जेल आन्दोलनमा सहभागिता उनका प्रारम्भिक राजनीतिक अध्यायका उल्लेखनीय पक्ष हुन् । २०४६/४७ को जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा संगठनात्मक भूमिका निर्वाह गर्दै उनी क्रमशः केन्द्रीय नेतृत्व तहसम्म पुगे ।
प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य, युवा तथा खेलकुद मन्त्री, जलस्रोत मन्त्री, रक्षा मन्त्री हुँदै चार पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु उनको प्रशासनिक अनुभवको दायरा हो । पार्टी संरचनामा महासचिवदेखि उपाध्यक्षसम्मको यात्राले नीति र संगठन दुवै क्षेत्रमा उनको प्रभाव देखाउँछ ।
अर्थनीतिमा पूर्वाधार र संरचनागत सुधार
अर्थमन्त्रीका रूपमा उनले पूँजीगत खर्च वृद्धि, राजस्व प्रणाली सुधार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखे । संघीय व्यवस्थाअनुसार वित्तीय हस्तान्तरण प्रणाली सुदृढ गर्न तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न उनले जोड दिएका थिए ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र प्रवद्र्धनमा बजेट सुनिश्चितता तथा नीतिगत समर्थनमा उनको सक्रियता उल्लेखनीय मानिन्छ । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी पर्यटन, व्यापार र रोजगारी विस्तार गर्ने दीर्घकालीन लक्ष्य सार्वजनिक गरिएको छ ।
लुम्बिनीको बहुआयामिक सम्भावना
लुम्बिनीलाई आध्यात्मिक केन्द्रबाट आर्थिक सम्भावनाको केन्द्रमा रूपान्तरण गर्ने अवधारणा उनले अघि सारेका छन् । तिलौराकोट, रामग्राम, देवदह र बुटवल–बेलहिया क्षेत्रलाई एउटै पर्यटन सर्किटमा जोड्ने ‘बृहत् लुम्बिनी’ अवधारणाले सांस्कृतिक पर्यटनसँगै क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राख्छ ।
रुपन्देही–२ : आर्थिक करिडोरको परिकल्पना
बुटवल–भैरहवा करिडोरलाई ‘इकोनोमिक हब’का रूपमा विकास गर्ने योजना, औद्योगिक पूर्वाधार विस्तार, स्वास्थ्य सेवा सुदृढीकरण र प्राविधिक शिक्षा विस्तारलाई प्राथमिकतामा राखिएको छ । मोतीपुर औद्योगिक क्षेत्र, बेलहिया नाका सुदृढीकरण र नदी नियन्त्रण आयोजना जस्ता परियोजनाहरूलाई उत्पादन, व्यापार र रोजगारीसँग जोडेर हेरिएको छ ।
शिक्षा, स्वास्थ्य र डिजिटल अर्थतन्त्र
लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार, सीपमूलक शिक्षा र युवामुखी उद्यमशीलता कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल विस्तार, ट्रमा सेवा र स्वास्थ्य बिमा प्रभावकारी कार्यान्वयनजस्ता विषयलाई सामाजिक सुरक्षासँग जोडिएको नीति रूपमा प्रस्तुत गरिएको छ । साथै डिजिटल सेवा, स्टार्टअप प्रवद्र्धन र सूचना–प्रविधि आधारित उद्यमलाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरिएको छ ।
स्थिरता र सुशासनको सन्देश
पौडेलको राजनीतिक दृष्टिकोण स्थिर सरकार, नीति निरन्तरता र सुशासनमा केन्द्रित छ । संघ–प्रदेश–स्थानीय तह समन्वय, सार्वजनिक–निजी साझेदारी र पारदर्शितालाई दीर्घकालीन विकासको आधार मान्ने उनको धारणा छ ।
संघर्षबाट सुरु भएको यात्रा, संगठनात्मक अनुभव र आर्थिक नीतिमा प्रत्यक्ष संलग्नतासहित विष्णुप्रसाद पौडेल रुपन्देही–२ मा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भएका छन् । उनका समर्थकहरू उनलाई अनुभव र स्पष्ट दृष्टिकोण भएको नेता मान्छन् भने आलोचकहरू परिणाममुखी कार्यान्वयनलाई नै उनको नेतृत्वको वास्तविक परीक्षण ठान्छन् ।
‘एमाले राष्ट्रिय राजनीतिको मियो’
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका निर्वाचन प्रक्षेपणहरू वास्तविकताभन्दा फरक भएको दाबी गरेका छन् । उनले भरपर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट तयार पारिएका अन्य प्रक्षेपणहरू सार्वजनिक हुने क्रममा रहेको बताए ।
बुटवलमा प्रेस चौतारी निकट पत्रकारहरूसँगको अन्तरसंवादमा उनले रुपन्देही–२ सहित विभिन्न निर्वाचन क्षेत्रमा एमाले कमजोर भएको देखाउने प्रयास भएको उल्लेख गर्दै त्यसलाई “योजनाबद्ध र सेटिङमा आधारित” दाबी गरे । “फिल्डको अवस्था फरक छ, मतदाताको मनोविज्ञान एमालेतर्फ सकारात्मक छ,” उनले भने, “तथ्यमा आधारित प्रक्षेपण आउँदा भ्रम स्वतः हट्नेछ ।”
पौडेलले प्रतिस्पर्धी दलप्रति टिप्पणी नगरी आफ्नो पार्टीलाई राष्ट्रिय राजनीतिको “मियो”को रूपमा व्याख्या गरे । उनले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्र तथा लुम्बिनी प्रदेशका २६ क्षेत्रमा एमाले पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे । “निर्वाचनपछि एमाले मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने परिस्थिति बन्नेछ,” उनको भनाइ थियो ।
रुपन्देही–२ बाट उम्मेदवार रहेका पौडेलले विगतमा सुरु गरिएका पूर्वाधार आयोजनाहरू सम्पन्न गर्ने र नयाँ योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याए । उनले निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे सडक आयोजना, सिद्धबाबा सुरुङ मार्ग तथा सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई प्राथमिक परियोजनाका रूपमा उल्लेख गरे ।
उनका अनुसार सिद्धार्थ राजमार्ग स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरूबीच आवागमन सहज भई पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै कालीगण्डकी–तिनाउ डाइभर्सनजस्ता बहुउद्देश्यीय योजनालाई दीर्घकालीन विकाससँग जोडिएको रूपमा प्रस्तुत गरे ।
पौडेलले रुपन्देहीमा सञ्चालित पूर्वाधार परियोजनाहरू समयमै सम्पन्न गर्न र प्रभावकारी व्यवस्थापनसहित सञ्चालन गर्न स्थिर नेतृत्व आवश्यक रहेको तर्क गरे । “एमालेले केवल चुनाव जित्न होइन, क्षेत्र र प्रदेशलाई नमुना बनाउने लक्ष्यका साथ जनमत मागिरहेको छ,” उनले भने । निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक भइरहेका विभिन्न आकलन र राजनीतिक दाबीबीच मतदाताको निर्णय नै अन्तिम हुने उनले उल्लेख गरे ।


















प्रतिक्रिया