काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम पुनःबदली भई आज विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज ३६ मिलिमिटरसम्म वर्षा भएको छ । बदली अझै केही दिन कायम रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन् ।
विभागको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा आज सबैभन्दा बढी वर्षा नवलपरासी बर्दघाटपूर्वमा ३६ दशमलव छ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए । उनका अनुसार नवलपरासी पश्चिममा २८ दशमलव चार, तनहुँमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
रुपन्देही काठमाडौँ, सिन्धुपाल्चोक, कास्की, म्याग्दी, बागलुङ र डोल्पामा पाँच मिलिमिटरभन्दा कम वर्षा भएको जनाउँदै कायस्थले पूर्व धनकुटामा पाँच दशमलव दुई मिलिमिटर वर्षा भएको उनले उल्लेख गरे ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज साँझ बुलेटिन जारी गरी आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ ।
त्यस्तै गण्डकी प्रदेशको थोरै स्थानमा र कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मङ्गलबार देशभर साधारणतया बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । बुधबार पनि बदली कायम रहने जनाइएको छ ।


















प्रतिक्रिया