७ चैत्र २०८२, शनिबार | March 21, 2026

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !



पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा आत्मघाती आक्रमण भइरहेका थिए र सिरियामा इस्लामिक स्टेटले विदेशीहरूलाई अपहरण गरी हत्या गरिरहेको थियो, त्यतिबेला दुबईमा भने निरन्तर उत्सवको माहोल देखिन्थ्यो।

विश्वका धनी मानिसहरू दुबईका कृत्रिम टापुहरूमा बंगला किनिरहेका थिए, अबु धाबीको लुभ्र संग्रहालय घुमिरहेका थिए वा कतारको मरुभूमिमा सफारीको आनन्द लिइरहेका थिए।

युद्ध, विरोध प्रदर्शन र अस्थिरताले घेरिएको छिमेकी क्षेत्रबीच फारसको खाडीका देशहरूले वर्षौंदेखि आफूलाई सुरक्षा र समृद्धिको केन्द्रका रूपमा प्रस्तुत गर्दै आएका छन्।

उनीहरूको प्रयास र आकर्षक कर नीतिका कारण अरबौं डलर विदेशी लगानी भित्रियो। यही कारणले दुबई, अबु धाबी र दोहा जस्ता सहरहरू अरबपतिहरू, लक्जरी पर्यटन र अन्तर्राष्ट्रिय कार्यक्रमहरूको प्रमुख गन्तव्य बने। तर यो सबै फेब्रुअरी २८ मा बदलियो।

त्यस दिन अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले नयाँ युद्धको सुरुवात गर्‍यो। यसको जवाफमा इरानले केवल इजरायली सहर र त्यहाँ रहेका अमेरिकी सैन्य अड्डामाथि मात्र होइन, खाडी क्षेत्रमा रहेका अमेरिकाका सहयोगी देशहरूलाई पनि निशाना बनायो।

यी राजतन्त्रात्मक देशहरूले अचानक आफूलाई यस्तो संघर्षको बीचमा पाए, जसको उनीहरूले कल्पना पनि गरेका थिएनन्।

चरममा पुगेको आक्रोश

युरोपियन पीस इन्स्टिच्युटकी खाडी मामिलासम्बन्धी विशेषज्ञ विश्लेषक अन्ना ज्याकब्स खलिफाले बीबीसी मुन्डोलाई भनिन्, “उनीहरूले राष्ट्रपति ट्रम्पलाई यो युद्धबाट टाढा राख्न हरसम्भव प्रयास गरेका थिए।” तर अचानक इरानी मिसाइलहरू शपिङ मल, गगनचुम्बी भवनहरू र नौकाले भरिएका बन्दरगाह नजिकै खस्न थाले।

कतार, यूएई, कुवेत, बहरेन, साउदी अरब र ओमानका नागरिकहरूले यी दृश्यहरू भयभीत आँखाले हेरे। त्यहाँ रहेका हजारौं विदेशी कामदार र पर्यटक पनि त्यसका साक्षी बने।

युद्ध अब विश्वका केही सबैभन्दा विलासी होटलहरू नजिकसम्म आइपुगेको छ।

एक इरानी ड्रोनलाई आकाशमै खसालिएपछि त्यसका अवशेष दुबईको बुर्ज अल अरब नजिक खसे। कृत्रिम टापु पाम जुमेराह स्थित फेयरमोन्ट द पाम होटलमाथि पनि सीधा आक्रमण भएको बताइएको छ।

त्यसैगरी बुधबार कतारको सरकारी तेल कम्पनीले रास लाफान औद्योगिक क्षेत्रमा भएको मिसाइल आक्रमणका कारण ‘ठूलो क्षति’ भएको जनाएको छ।

रास लाफान ती स्थानमध्ये एक हो, जसको नाम इरानले चेतावनी सूचीमा राखेको थियो। यो चेतावनी इजरायलले इरानको साउथ पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि दिइएको थियो।

यसका परिणाम अत्यन्त विनाशकारी देखिन थालेका छन् र खाडी देशहरूमा आक्रोश चुलिएको छ।

उडानहरू, होटल बुकिङ, सम्मेलनहरू तथा बहरेन र साउदी अरबमा हुने फर्मुला–१ जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू रद्द हुन थालेपछि यी धनी राजतन्त्रहरू झस्किएका छन्।

यससँगै होर्मुज जलडमरू बन्द हुँदा इन्धन निर्यातमा पनि असर परेको छ।

के भंग भयो सुरक्षित छविको मृगतृष्णा ?

कुवेत विश्वविद्यालयका प्राध्यापक बद्र अल सैफले बीबीसीसँग भनेका छन्, “खाडी देशहरूले आफूलाई पश्चिमएशियाको सुरक्षित आश्रयस्थलका रूपमा प्रस्तुत गर्न धेरै मेहनत गरेका थिए। तर पछिल्लो एक हप्ताका घटनाले त्यो छवि धुमिल बनाइदिएको छ।”

खाडीका शासकहरूले व्यापक निगरानी प्रणालीमा लगानी गरेका छन्, जसका कारण उनीहरू धेरै हदसम्म आतंकवादबाट सुरक्षित थिए।

तर उनीहरूले असहमतिका आवाजहरू र आफ्नो छविलाई हानि पुर्‍याउन सक्ने गतिविधिमाथि पनि कडा नियन्त्रण गरेका छन्।

युद्धका तीन हप्तामा मात्रै दर्जनौं मानिस पक्राउ परेका छन्, जसमा विदेशी नागरिक पनि छन्। कतिपयलाई त इरानी आक्रमणका भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकै कारण पक्राउ गरिएको छ।

कर प्रणाली सहज भएकाले यी देशहरूले विश्वभरका लगानीकर्तालाई आकर्षित गरेका थिए, तर अहिलेको युद्ध उनीहरूका लागि ठूलो परीक्षा बनेको छ।

फाइनान्सियल टाइम्सका अनुसार वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिलले मात्र पर्यटन क्षेत्रमा दैनिक करिब ६० करोड अमेरिकी डलर घाटा भइरहेको जनाएको छ।

दुबईमा एयरबीएनबी र वीआरबीओ जस्ता प्लेटफर्ममा मार्च ६ को हप्तामा मात्रै ८० हजारभन्दा बढी बुकिङ रद्द भएका छन्। उडान रद्द हुँदा लाखौं यात्रु अलपत्र परेका छन्।

पछिल्ला दशकहरूमा खाडी क्षेत्र अन्तर्राष्ट्रिय हवाई यातायातको प्रमुख केन्द्र बनेको थियो, जहाँबाट दैनिक पाँच लाखभन्दा बढी यात्रु आवतजावत गर्थे।

फेब्रुअरी २८ पछि दुबई, कुवेत र अबु धाबीका विमानस्थलहरू इरानी मिसाइल वा ड्रोन आक्रमणको चपेटामा परिसकेका छन्।

हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलको बेल्फर सेन्टरकी अनुसन्धानकर्ता एल्हाम फख्रो भन्छिन्, “सुरक्षाको यो छवि केही हदसम्म कृत्रिम थियो, तर केही हदसम्म वास्तविक पनि। किनकि खाडी देशहरूले दशकौंसम्म आफूलाई वरिपरि भइरहेको हिंसाबाट अलग राखेका थिए।”

उनका अनुसार लगानीकर्ता र पर्यटकको विश्वास पुनः फर्कन सक्छ, तर त्यो युद्ध कति लामो समयसम्म चल्छ भन्नेमा निर्भर गर्नेछ।

निराशा र आक्रोश

इरानसँगको युद्ध अत्यन्त महँगो सावित भइरहेको छ र यसले नागरिक तथा शासक दुवैमा निराशा बढाइरहेको छ।

सबैभन्दा कडा आलोचना गर्ने सार्वजनिक व्यक्तिमध्ये एक अमिराती अर्बपति व्यवसायी खलफ अहमद अल हब्तूर हुन्।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुला पत्र लेख्दै प्रश्न गरेका छन्, “हाम्रो क्षेत्रलाई इरानसँगको युद्धमा तान्ने अधिकार कसले दियो ? यस्तो खतरनाक निर्णय किन लिइयो ?”

हार्वर्डकी एल्हाम फख्रो भन्छिन्, खाडीका राजधानीहरूमा ‘विश्वासघात’को भावना गहिरो छ, यद्यपि त्यो खुलेर व्यक्त हुने सम्भावना कम छ।

खाडी देशहरूले अमेरिकासँग सम्बन्ध बलियो बनाउन ठूलो लगानी गरेका थिए—अमेरिकी सैन्य अड्डालाई ठाउँ दिने, लजिस्टिक सहयोग गर्ने र अरबौं डलर लगानी गर्ने वाचा गर्ने। तर उनीहरूको अपेक्षा थियो कि यस्तो युद्धअघि कम्तीमा उनीहरूसँग परामर्श गरिनेछ। तर त्यसो भएन।

इरानी मिसाइलहरू उनीहरूको राजधानी, विमानस्थल, तेल संरचना र वित्तीय केन्द्रहरूमा खसे—त्यो पनि उनीहरूको निर्णयका कारण होइन, वासिङ्टन र तेल अवीभका निर्णयका कारण।

सुरक्षा रणनीति

खाडीका राजतन्त्रहरू र इरानबीच सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ।
यो अवस्था १९७९ को इरानी क्रान्तिपछि झन् बढ्यो।

इरान शिया बहुल देश हो भने खाडीका धेरै देश सुन्नी बहुल छन्। साथै इरानले आफूलाई अमेरिकाको प्रमुख विरोधीका रूपमा प्रस्तुत गर्दै आएको छ, जबकि खाडीका राजघरानाहरु अमेरिका निकट छन्। यसैकारण साउदी अरब, यूएई र कतार जस्ता देशहरू अमेरिकी सुरक्षा छातामुनि पुगे।

लन्डनस्थित थिंक ट्यांक चाथम हाउसका अनुसन्धानकर्ता नील क्विलियमका अनुसार, “यी देशहरूले नेटोको अनुच्छेद ५ जस्तै व्यवस्था चाहेका थिए—एक सदस्यमाथि आक्रमण भए सबैले रक्षा गर्ने।”

यसको उदाहरण १९९० मा कुवेतमाथि इराकका सद्दाम हुसेनले गरेको आक्रमणपछि अमेरिकी नेतृत्वको गठबन्धनले कुवेतलाई मुक्त गराएको घटना हो।

तर २०१९ मा साउदी तेल संरचनामाथि भएको आक्रमण वा २०२५ मा दोहामा भएको इजरायली हवाई आक्रमणमा अमेरिका सक्रिय देखिएन। त्यसपछि खाडी देशहरूले आफ्नै सैन्य खर्च बढाउन थाले।

एल्हाम फख्रोका अनुसार खाडी देशहरूको सुरक्षा नीति तीन आधारमा टिकेको थियो :

1.अमेरिका बाह्य खतरा विरुद्ध सुरक्षा ग्यारेन्टी दिनेछ
2.इरानसँग तनाव घट्दा प्रत्यक्ष युद्धको जोखिम घट्नेछ
3. केही देशका लागि इजरायलसँग सीमित सम्बन्ध बनाउनु रणनीतिक रूपमा फाइदाजनक हुनेछ

तर अहिलेको युद्धले यी सबै धारणाहरूको सीमा उजागर गरिदिएको छ।

गर्धनमा तरबार

विशेषज्ञहरूका अनुसार खाडी देशहरूका लागि कुनै पनि विकल्प सजिलो छैन।

युद्ध चाँडै अन्त्य भयो भने मात्र आर्थिक क्षति कम हुनेछ। यदि युद्ध लामो भयो भने प्रत्येक महिनासँगै क्षति बढ्दै जानेछ।

यसले विदेशी कामदारको पलायन बढाउनेछ र पूँजी बाहिरिने खतरा पनि बढ्नेछ—जबकि दुबईजस्ता अर्थतन्त्रहरू यिनैमा निर्भर छन्।

साथै होर्मुज जलडमरू बन्द हुँदा हुने आर्थिक क्षति केवल स्थायी युद्धविरामले मात्र रोक्न सक्ने विश्लेषकहरूको भनाइ छ।

युद्ध आजै समाप्त भए पनि इरानबाट हुने सम्भावित खतरा खाडी देशहरूको टाउकोमाथि सधैं झुण्डिरहनेछ।

अन्ना ज्याकब्स खलिफाका अनुसार, “खाडी देशहरूले आफ्नो भूगोल बदल्न सक्दैनन्। उनीहरू ९ करोड जनसंख्या भएको ठूलो छिमेकी इरानसँग सहअस्तित्वको बाटो खोज्नैपर्छ, ताकि उसले उनीहरूको देश र विश्व ऊर्जा बजारलाई निरन्तर धम्की नदियोस्।”

बीबीसीबाट

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : ५४ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा