काठमाडौँ । २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा मिश्रित खालक रह्यो । एक वर्षको अवधिमा नेपालको सहभागिता विश्वस्तरीयदेखि विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उल्लेख्य रुपमा भएको थियो । यस क्रममा केही अन्तरराष्ट्रिय पदक भित्र्याउन नेपाली खेलाडी सफल भए । मुलुकभित्र आयोजित विविध खेलकुद प्रतियोगिताले खेलकुद क्षेत्रलाई व्यस्त बनायो ।
यस्तै खेलकुदलाई व्यावसायिकतातर्फ जोड्ने काममा पनि यस वर्ष केही उल्लेखनीय प्रयास भएका छन् । यद्यपि, यो वर्ष नेपाल ओलम्पिक कमिटीमा तालाबन्दी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निलम्बनजस्ता कार्यले नियमित खेलकुद गतिविधिमा अवरोध पुग्न गएको छ ।
खेलाडी पनि सांसद
२०८२ सालको अन्ततिर नेपालको खेलकुद जगतले आफ्ना दुई सदस्यलाई सङ्घीय संसद्को विधायकको रुपमा प्राप्त ग¥यो । प्रतिनिधिसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित सांसद डा अच्चुतम लामिछाने पूर्वताइक्वाण्डो खेलाडी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा लामिछानेले दक्षिण कोरियाबाट खेलकुद विज्ञानमा पिएचडी उपाधि हासिल गरेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद्मा खेलकुद विज्ञान विज्ञका रुपमा समेत कार्य गरिसकेका छन् । सन् २०२४ मा माल्दिभ्समा भएको १५औँ विश्व बडी बिल्डिङ च्याम्पियनसीपमा रजत पदक जित्न सफल खेलाडी रजनी श्रेष्ठ प्रतिनिधिसभामा सांसद बनेकी छन् । उनी पनि रास्वपाको समानुपातिकतर्फ सांसद पदमा निर्वाचित भएकी छन् । उनले सन् २०२३ मा ५५ औँ एसियन बडि बिल्डिङ च्याम्पियनसीपमा स्वर्ण पदकका साथै अन्य विभिन्न प्रतियोगितामा मुलुकका लागि पदक जितिसकेकी छन् । यसरी खेलकुद बुझेका व्यक्ति नै सांसद बनेपछि अब संसद्मा खेलाडीका मुद्दा उठाउन सहज भएको महसुस गरिएको छ ।
क्रिकेटको कमाल
नेपालको खेलकुदको आधिकारिक संस्था राष्ट्रिय खेलकुद परिषदअन्तर्गत सयौँ खेलका सङ्घ भए पनि केही वर्षयता क्रिकेटले अन्य खेलका सङ्घलाई उछिन्दै आइरहेको छ । नेपाली क्रिकेट खेलाडीका लागि २०८२ साल अत्यन्त ब्यस्त वर्षका रुपमा बित्यो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरुको सहभागितामा ब्यस्त रहेका नेपाली क्रिकेट खेलाडीहरुले यसपालि तेस्रोपटक ‘टी ट्वाण्टी’ विश्वकपमा सहभागिता जनाउनुलाई वर्षकै महत्वपूर्ण उपलब्धि मानिएको छ । नेपालले विश्वकपमा समग्रमा सुखद नतिजा हासिल गर्न नसके पनि विभिन्न खेलमा उचित मुकाबिला गर्न पछि नपरेको महसुस गरिएको थियो ।
नेपाली क्रिकेट टोलीका केही खेलाडीले व्यक्तिगत रुपमा उल्लेखनीय खेल प्रदर्शन गरेका थिए । तीन खेलमा हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपाली टिमले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेर निरास भएका क्रिकेट प्रेमीहरुलाई पुनः उत्साहित बनाएको थियो । स्कटल्याण्डविरुद्ध विष्फोटक ब्याटिङ गरेर दिपेन्द्रसिंह ऐरीले मुलुककै लागि पहिलोपटक विश्वकपमा म्यानअफ दि म्याच पुरस्कार पाउनु भएको थियो । यसअघि विश्वकपको पहिलो खेलमै नेपाली टोली क्रिकेटको जन्मदाता तथा दुईपटक विश्व विजेता बनिसकेको इङ्ग्ल्याण्डलाई कडा चुनौती दिँदै चार रनको अन्तरले मात्र पराजित भएको थियो । त्यो ऐतिहासिक खेलले क्रिकेटप्रेमी दर्शकहरुको मन जितेको थियो । उक्त खेलमा नेपाली खेलाडीहरुको उच्च मनोबलको अन्तरराष्ट्रिय टेलिभिजन प्रत्यक्ष प्रसारणका कमेण्टेटरहरुले खुलेरै प्रशंसा गरेका थिए ।
नेपाली टिमले यस वर्ष विश्वमै शक्तिशाली टिमको रुपमा परिचय बनाएको वेष्ट इण्डिजलाई ‘टी ट्वाण्टी’ त्रि–दिवसीय क्रिकेट शृङ्खलामा पराजित गरेर उपाधि हात पार्नुलाई पनि महत्वपूर्ण उपलब्धि मानिएको छ । संयुक्त अरब इमिरेटसको सारजहाँमा भएको उक्त शृङ्खलामा नेपालले तीनमध्ये दुई खेल जितेको थियो । यसबाहेक अन्य विभिन्न मुलुकका टिमसँग भएको जित पनि प्रशंसनीय छ ।
करोडौँ कमाइ
नेपालमा व्यावसायिक खेलको विकासका लागि महत्वपूर्ण माध्यमका रुपमा छोटै समयमा स्थापित हुन सफल नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको दोस्रो संस्करणमा नेपाल क्रिकेट सङ्घ क्यानले रु ४७ करोड ३६ लाखभन्दा बढी आम्दानी गर्नुलाई नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतासँग तुलना गर्न सकिन्छ । निजी क्षेत्रको करोडौँ लगानीमा बनाइएका फ्रेन्चाइज टिमहरुमा स्वदेश तथा विदेशका खेलाडीहरुको एकसाथ सहभागिता सो प्रतियोगिताको विशेषता रहेको थियो ।
एनपिएलमा सहभागी प्रत्येक टिमले ठूलो लगानी गरी विश्व क्रिकेट जगतमा आफ्नो पहिचान बनाइसकेका खेलाडीहरुलाई भित्र्याएका थिए । स्वदेशी खेलाडीहरुले समेत लाखौँ रुपैयाँ पारिश्रमिक लिएर खेल्ने मौका पाएका थिए । यस्तो व्यावसायिक अभ्यास फुटबल, भलिबल, कबड्डीजस्ता खेलमा समेत हुँदै गएका छन् । आगामी दिनमा बढाउँदै अन्य खेलमा समेत यस्तो व्यावसायिक अभ्यास विस्तार गर्न सकिएको खण्डमा नेपालमा खेलेर बाच्न सकिने अवस्थाको सिर्जना गर्न केही हदसम्म कम गर्न सहयोग पुग्न जानेछ । यसले आगामी दिनमा खेलाडीहरु रोजगारका लागि विदेशिने क्रम कम गर्न सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ । रु २१ करोडभन्दा बढी खर्च भएको एनपिएल क्रिकेटबाट मात्र क्यानलाई नौ करोड रुपैयाँभन्दा बढी बचत गर्ने मौका मिलेको छ ।
पूर्वाधार तयार
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नति पनि यस वर्षको खेलकुदको उपलब्धि मानिएको छ । यसबाट मैदानस्तरीय हुनुका साथै दर्शकहरुको सिट क्षमतासमेत बढ्न गएको छ । राति पनि फ्लडलाइटको प्रकाशमा क्रिकेट प्रतियोगिता सञ्चालन हुनु अर्को ऐतिहासिक काम भएको छ ।
नेपालमा अब अन्तरराष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता राति पनि सञ्चालन गर्न सम्भव भएपछि आगामी दिनमा नेपाल अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाका लागि उपयुक्तस्थलका रुपमा विकास हुँदै जाने अपेक्षा गरिएको छ । दशौँ हजार दर्शकलाई बस्ने सिटको व्यवस्था हुनुले धुले चौरमा बसेर क्रिकेट हेर्ने बानी परेका नेपाली दर्शकहरुलाई निकै राहत मिलेको छ । मूलपानीमा बनाइएको क्रिकेट मैदानमा पनि अन्तरराष्ट्रिय प्रतियोगिताहरु बेलाबखत भइरहेका छन् ।
महिलाको सफलता
नेपाली महिला क्रिकेट टोलीले पनि २०८२ सालमा आफूलाई सशक्त टिमका रुपमा प्रस्तुत गरेको थियो । महिला टोलीले पहिलोपटक टि ट्वाण्टी विश्वकप प्रवेशका लागि छनोट प्रतियोगितामा सफलता भने हात पर्न नसके पनि दाबेदारी प्रस्तुत गरेको थियो । महिला क्रिकेट टोली थाइल्याण्डको बैंककमा सन् २०२५ को मे महिनामा भएको एसियाली छनोटमार्फत शीर्ष दुईमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो । त्यतिखेर उपविजेता बनेको नेपालले संयुक्त अरब इमिरेटस्लाई पराजित गर्दै विश्वव्यापी छनोटमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
नेपाली महिला टोलीले टि ट्वाण्टी अन्तरराष्ट्रिय शृङ्खलामा मलेसियालाई उनीहरुकै गृह मैदानमा पराजित गरेर उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा सञ्चालन गरिएका पाँच खेलमध्ये नेपालले तीन खेल जितेर उपाधि कब्जामा लिएको थियो ।
नेत्रहीन पनि अगाडि
नेपालका नेत्रहीन खेलाडीहरुले क्रिकेटमा छोटै अवधिमा उल्लेखनिय प्रगति गरेका छन् । पुरुष नेत्रहीन खेलाडीहरुले केही वर्षअघि नै विश्वकपसम्म प्रतिस्पर्धा गरिसकेका छन् । नेपाली महिला टोलीले भारततथा श्रीलङ्कामा यसै वर्ष भएको पहिलो नेत्रहीन महिला टि ट्वाण्टी क्रिकेट विश्वकपमा उपविजेता बनेर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । नेपाल फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो । कप्तान गीता पौडेलको नेतृत्वमा रहेको उक्त टिमलाई नेपाल क्रिकेट सङ्घले रु १० लाख पुरस्कार प्रदान गरेर प्रोत्साहित गरेको थियो । यस्तै काठमाडौँ महानगरपालिकाले टिमका खेलाडीहरुलाई जनही एक लाख नगद पुरस्कार प्रदान गरेको थियो ।
करातेमा कीर्तिमान
नेपाली कराते खेलाडीहरुमध्ये सबैभन्दा सफल मानिएकी खेलाडी एरिका गुरुङको दोस्रोपटक विश्वस्तरीय प्रतियोगितामा रजत पदक प्राप्तिबाट २०८२ सालको सुखद अन्त्य हुन पुग्यो । चीनको सिचुवान प्रान्तमा भएको वल्र्ड कराते फेडेरेशन डब्लु के एफ कराते वान प्रिमियर लिगमा उनले दोस्रोपटक रजत पदक पाएकी थिइन् । काजकिस्तानकी सोफिया बेरुल्तसेभासँग भएको फाइनल प्रतिस्पर्धात्मक भिडन्तमा झिनो अन्तरले एरिकाको पराजय भएको थियो । यसअघि टर्कीको इस्तानबुलमा पनि एरिका सोही प्रतियोगिताको फाइनलमा उही खेलाडीसँग पराजित भएर रजत पदकमा सीमित हुनु परेको थियो । नेपाली कराते खेलाडी एरिका गुरुङले मुलुकलाई केही वर्षदेखि विभिन्न महत्वपूर्ण पदक दिलाउँदै आफूलाई अब्बल कराते खेलाडीका रुपमा प्रस्तुत गर्दै आइरहेकी छन् । प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षणमा एरिकाले तीन वर्षको अवधिमै विभिन्न महत्वपूर्ण अन्तरराष्ट्रिय पदक जितिसकेकी छन् । एरियाले २०८२ सालमा लगातार जित्नुभएको रजत पदक नेपालले कराते खेलमा हालसम्म जितेको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय उपाधि मानिएको छ । अस्ट्रेलियन ओपन करातेजस्तो प्रतिष्ठित प्रतियोगितामा समेत स्वर्ण पदक जित्न सफल एरिकाले सन् २०२३ मा चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेर एसियाली खेलकुदमा रजत पदक जित्ने पहिलो नेपाली कराते खेलाडी बन्न सफ भएकी थिइन् । अन्य केही कराते खेलाडीले पनि यसपालि स्वदेशमा पदक भित्र्याएका थिए ।
ताइक्वाण्डोमा सम्मानित
नेपालका ताइक्वाण्डो प्रशिक्षकलाई विश्वस्तरमै सम्मानित गरिएको प्रसङ्ग पनि उल्लेखनीय मानिएको छ । संयुक्त अरब इमिरेटसमा आयोजित विश्व ताइक्वाण्डो गला अवाड्समा नेपाली प्रशिक्षक कविराज नेगी लामालाई पारा ताइक्वाण्डो ‘कोच अफ दि इयर सन २०२५’ द्वारा सम्मानित गरिएको थियो । प्रशिक्षक लामाकै प्रशिक्षणमा नेपाली खेलाडी पलेशा गोवद्र्धनले पेरिसमा सन् २०२४ मा नेपालको लागि पहिलो पारा ओलम्पिक पदक जितेका थिए । उनकै प्रशिक्षणमा नेपाली खेलाडी रेणु तामाङले सन् २०२५ मा दुबईमा आयोजित युथ एसियन पारा खेलकुदमा कास्य पदक पाएकी थिइन् । वैदेशिक प्रतिस्पर्धामा ताइक्वाण्डोमा यस वर्ष पनि केही पदक प्राप्त भएका थिए ।
बक्सिङको महत्वपूर्ण पदक
विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालले यसै वर्ष पहिलोपटक पदक जित्न सफल भएको थियो । नेपालले सन् १९६४ मा पहिलोपटक ओलम्पिकमा बक्सिङ तथा एथलेटिक्समा भाग लिएर सहभागिता प्रारम्भ गरेको थियो । नेपालले विश्व बक्सिङ च्याम्पियनसिपमा पनि यसअघि विभिन्न पटक सहभागिता जनाइसकेको छ । तर यसवर्ष नेपालले पदक जित्नु सानो उपलब्धि होइन । संयुक्त अरब इमिरेटसमा भएको आइवा पुरुष विश्व च्याम्पियनसिप बक्सिङमा नेपालका मुक्केबाज चन्द्रबहादुर थापाले पहिलो पटक कास्य पदक जित्न सफल भएका थिए । ५४ केजी तौल समूहमा मुक्केबाज थापाले अर्मेनिया, इण्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कास्य पदकको हकदार बनेका थिए । विश्व वरियतामा सातौँ स्थानमा रहेका कजाकस्तानका खेलाडीसँग उनी पराजित भएका थिए ।
४१ वटा विश्वस्तरीय पदक
विसं २०८२ मा नेपालले पहिलोपटक विश्वस्तरीय प्रतियोगितामा अत्यधिक पदक जितेर कीर्तिमान कायम गरेको थियो । श्रीलङ्कामा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट भाग लिएका पुरुष तथा महिला खेलाडीहरुले कूल ४१ वटा पदक जितेर ऐतिहासिक उपलब्धि हासिल गरेको मान्न सकिन्छ । यसमा २६ स्वर्ण, १० रजत तथा पाँच कास्य पदक थिए । नेपाली खेलाडीहरुमध्ये डा जीतेन्द्रकुमार साह र तथा भेषकुमारी अस्लामीले दोहोरो स्वर्ण पदक जित्नुभएको थियो । यस प्रतियोगितामा नेपाली महिला तथा पुरुष दुवै टोली उत्कृष्ट टोली बन्न सफल भएको थियो । प्रतियोगिताका महिला सहभागीहरुमध्ये नेपालको प्रतिनिधित्व गर्नुभएका शर्मिला शाह सिनियरतर्फ तथा कल्पना खत्री जुनियरतर्फ बेष्ट लिफ्टर बन्न सफल हुनु मुलुकको खेलकुदका लागि गौरबमय क्षण थियो । यसबाहेक अन्य केही खेलमा पनि नेपाली खेलाडीहरुले अन्तरराष्ट्रिय सफलता प्राप्त गरेका छन् ।
फुटबलमा झेल
२०८२ साल नेपाली फुटबलमा खासै उपलब्धि हासिल हुन नसके पनि नेपाली फुटबल क्षेत्रमा देखिएको आपसी विवाद चर्चामा भने रह्यो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० तथा एन्फामा आबद्ध विभिन्न फुटबल क्लबबीचको मनोमालिन्यले फुटबल गतिविधि सञ्चालन हुन पाएन । एन्फाको वर्तमान कार्यसमितिको पदावधि समाप्त हुनुभन्दा अगाडि नै गर्न खोजिएको निर्वाचन विवादको जड थियो, जसले एन्फालाई निलम्बनको स्थितिसम्म लगेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेपछि नेपाललाई फिफाले नै निलम्बन गर्नसक्ने स्थिति सिर्जना हुनु मुलुकको फुटबल विकासका लागि उचित होइन ।
फिफाले एन्फालाई निलम्बन गरेमा नेपालको फुटबल विकासका लागि प्राप्त हुँदै आएको आर्थिक तथा प्राविधिक सहयोगको ढोका पनि बन्द हुन जानेछ । त्यसपछि नेपाल विश्वको फुटबल गतिविधिबाट स्वतः टाढिने सम्भावना आकलन गर्न सकिन्छ, जसको असर दीर्घकालीन रुपमा पर्न जाने निश्चित छ । एन्फाभित्रकै आपसी विवादकै कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डमा आयोजित फिफा सिरिज–२०२६ अन्तर्गत अन्तरराष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने अवसर गुमाएको थियो । परिषद् तथा एन्फाबीचको विवाद तथा दशरथ रङ्गशालाको खराव अवस्थाको कारण एसियाली फुटबल महासङ्घले एएफसी एशियाकप २०२७ को छनोट खेल नेपालमा नगरी लाओसमा सारेको थियो । यसअघि नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल पनि नेपालमा हुन सकेको थिएन ।
लिग स्थगितपछि अन्योल
नेपालमा लामो समयदेखि शहीद स्मारक लिग फुटबल प्रतियोगिताको आयोजना हुँदै आइरहेको थियो । समग्र मुलुककै फुटबल विकासमा यस्ता महत्वपूर्ण प्रतियोगिताको योगदान रहेको छ । धेरै समय अवधिसम्म सञ्चालन हुने यस्ता प्रतियोगितामा खेलाडीहरुले धेरै खेलमा आफ्नो खेल कौशल देखाउने अवसर पाउँछन् । मुलुकमा व्यावसायिक खेलको विकासका लागि यसको योगदानलाई नकार्न सकिंदैन । निजी क्षेत्रका नेपाली फुटबल क्लबहरुले खेलाडीहरुलाई खेलेरै बाच्न सकिने अवस्थाको सिर्जना गर्नु सानो पहल होइन । अझ यसमा विदेशी खेलाडीलाई समेत समेटेर खेलको स्तर बढाउन क्लबहरुले प्रयास गरेका छन् ।
नेपालमा अझैसम्म खेलकुदमा लगानीका लागि उपयुक्त वातावरण नबनिसकेको अवस्थामा साधन र स्रोत जुटाउनु त्यति सहज छैन । पुरुषहरुको लिग फुटबल लामो समयदेखि सञ्चालन हुँदै आएको तथा हाल महिला लिग पनि सुरु हुनु सकारात्मक मान्न सकिन्छ । यस्तो अवस्थामा पुरुष तथा महिला दुवै लिग स्थगित हुनु उचित होइन । एन्फाले प्राविधिक कारण देखाउँदै लिग स्थगित गरेसँगै लिगमा खेलिरहेका विदेशी खेलाडीहरुको सहभागिता सम्बन्धमा अध्यागमन विभागले चालेको कदमले पनि क्लबहरु अन्यौलमा परेका छन् । कुनै पनि विदेशी खेलाडीहरुलाई श्रम स्वीकृति बिना राष्ट्रिय लिगमा खेलाउन नपाइने भएपछि ती खेलाडीहरुको निरन्तरताको समस्या उत्पन्न भएको छ ।
साम्भाप्रतिको सद्भाव
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्भाको घुँडामा लागेको गम्भीर चोटको उपचारका लागि फुटबलप्रेमीहरुले देखाएको सद्भाव पनि यो वर्ष चर्चित भयो । साम्भाले आफ्नो उपचारका लागि सहयोग गर्न आग्रह गरेको २४ घण्टाभित्रै मुलुक तथा विभिन्न देशबाट आवश्यक रकम जुटेको थियो । उनको उपचारका लागि नेपाली बैंक खातामा रु एक करोडभन्दा बढी रकम तथा विदेशी प्लेटफर्ममा रु ४५ लाख जम्मा भएको थियो । साम्भाले आफू अझ मजबुत भएर फर्किएर नेपाली जर्सीमा देशका लागि जित्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । साम्भा यसअघि फ्रान्समा स्थानीय क्लबसँग आबद्ध रहेकी थिइन् । नेपाली टिमको नेतृत्व सम्हालिसकेकी एन्जिला सुब्बा तुम्बापो ग्रिस तथा रेखा पौडेल साउदी अरेबियामा खेलिसकेका छन् । जोर्डनमा व्यावसायिक खेल खेलेर आफ्नो क्लबलाई उपाधि दिलाउन सफल प्रिति राई पछिल्लोपटक कम्बोडियाको क्लबसँग आबद्ध भएकी छन् ।
ओलम्पिक कमिटीको तालाबन्दी
ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालयमा लामो अवधिसम्म ताला लगाइएको घटनाले पनि २०८२ सालमा नेपाली खेलकुद जगत्लाई तरङ्गित गरेको थियो । नेपाली खेलकुदको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषद् तथा अन्तरराष्ट्रिय खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल ओलम्पिक कमिटीबीच यसअघि पनि विवाद भएका थिए तर यसपालिको विवादले जापानमा आगामी सेप्टेम्बरमा हुने एसियाली खेलकुदमा नेपालको सहभागिता झण्डै गुमेको थियो । अहिले दुवै पक्षबीच विवाद समाधान भई एसियाली खेलकुदमा नेपालको सहभागिता सुनिश्चित भएको छ । आगामी दिनमा पुनः सम्बन्धित निकायहरुबीच आपसी सदभाव बिग्रन नदिन उचित पहल हुनुपर्ने आवश्यकता छ ।
रोकिएको राष्ट्रिय खेलकुद
नेपालमा राष्ट्रिय खेलकुदको सुरुआत भएको चार दशक नाघिसकेको छ । तर प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद हालसम्म नवौँ संस्करणपछि हुन सकेको छैन । नेपाली खेलकुद इतिहासमा सबैभन्दा बृहत् खेलकुद महोत्सव मानिएको राष्ट्रिय खेलकुदको दशौँ संस्करण २०८२ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने निश्चित गरिएको थियो । यस प्रकारको बृहत् खेलकुदका लागि सो प्रदेशका विभिन्न जिल्लामा भौतिक पूर्वाधारको निर्माण तथा मर्मतसम्भार गरिएको थियो । यसअघि पनि कर्णाली प्रदेशमा निश्चित गरिएको दशौँ राष्ट्रिय खेलकुदको मिति सारिएको थियो । यसरी पटकपटक राष्ट्रिय खेलकुद सारिनाले खेलाडीहरुको सक्रिय खेल जीवनलाई प्रभावित पर्न गएको छ ।
अन्त्यमा,
२०८२ सालमा नेपाली खेलकुदले सामना गरेका कमी कमजोरीलाई नयाँ वर्ष २०८३ मा सुधार गर्दै विगतका दोहोरिन नदिन नेपालको खेलकुदको जिम्मेवार निकायहरु प्रयत्नशील हुनुपर्ने देखिएको छ । खेलकुदमा राजनीति हुनुहुँदैन । यसका हरेक गतिविधि पारदर्शी ढङ्गबाट अघि बढनुपर्छ । दूरगामी सोचबिना खेलकुदको समग्र विकास सम्भव नभएकाले यसलाई स्कूलस्तरदेखि नै जोड्न सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । यस्तै ओलम्पिक, एसियाली तथा दक्षिण एसियाली खेलकुदजस्ता महत्वपूर्ण खेलकुद प्रतियोगिता लक्षित गरेर पदक प्राप्तिको दीर्घकालीन योजना बनाउन पनि सम्बन्धित पक्षले प्राथमिकता दिनुपर्ने देखिन्छ ।
खेलकुदलाई रोजगारमूलक बनाई नेपालमा खेलेर पनि बाँच्न सकिने स्थितिको सिर्जना गर्न सरकारी अग्रसरता अपेक्षित मानिएको छ । यसो हुनसकेको खण्डमा मुलुकबाट बर्षेनी विदेशमा पलायन भइरहेका खेलाडीलाई रोक्न सकिने अवस्थाको वातावरण बन्न सक्दछ । खेलकुदको समयोचित विकासका लागि सरकारको प्रयासबाट सम्भव नहुने भएकोले निजी क्षेत्रसँगको साझेदारी नै आजको आवश्यकता हो । (लेखक खेल पत्रकार हुन्) रासस



















प्रतिक्रिया