२९ भदौ २०८३, सोमबार | September 14, 2026

सवारी दुर्घटनाको आर्थिक भार कम गर्दै भलाइ कोष



बुटवल । सवारी दुर्घटनाका कारण उत्पन्न हुने ठूलो आर्थिक क्षतिबाट चालक, मजदुर र व्यवसायीलाई जोगाउन यातायात मजदुर तथा व्यवसायी भलाइ कोषले महत्वपूर्ण अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सरोकारवालाहरूले बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित कोषको ५२ औँ स्थापना दिवस तथा ४८ औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने वक्ताहरूले सडक दुर्घटनाको आर्थिक जोखिम न्यूनीकरण गर्न कोष एक प्रभावकारी माध्यम बनेको चर्चा गरे । दुर्घटनापछिको ठूलो आर्थिक भार एउटै व्यक्तिले व्यहोर्न नसक्ने हुनाले यस्तो अवस्थामा कोषले पु¥याउने सहयोगले सर्वसाधारणलाई थप मारमा पर्नबाट जोगाएको उनीहरूको धारणा थियो ।

साधारणसभाको उद्घाटन गर्दै कोषका पूर्वअध्यक्ष कुमार थापाले पछिल्लो समय सवारी साधनको संख्यामा भएको तीव्र वृद्धिसँगै सडक दुर्घटना एक गम्भीर राष्ट्रिय चुनौतीका रूपमा देखा परेको बताए । देशभर सवारी साधनको संख्या ८० लाख नाघिसकेको तथ्यांक प्रस्तुत गर्दै उनले सडकमा सवारीको चाप उल्लेख्य रूपमा बढेको उल्लेख गरे । विशेषगरी दुई पाङ्ग्रे सवारी साधनको अत्यधिक वृद्धि नै दुर्घटना बढ्नुको प्रमुख कारण रहेको र करिब ८० प्रतिशत दुर्घटनामा मोटरसाइकल संलग्न रहेको सरकारी तथ्यांकले देखाएको उनले बताए । यस समस्याको दीर्घकालीन समाधानका लागि सरकारले एक शक्तिशाली आयोग वा बोर्ड गठन गरेर काम गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

संस्थाका अध्यक्ष दिनेश फुल्लेलले मजदुर र व्यवसायीको हकहितमा कोषले पु¥याएको योगदानका बारेमा प्रकाश पारे । हाल देशभर २९ वटा शाखा र ६८ जना कर्मचारीमार्फत सेवा प्रवाह गरिरहेको जानकारी दिँदै उनले आर्थिक वर्ष २०८२/८३ मा मात्रै एक हजार १३५ वटा सवारी दुर्घटनामा आर्थिक, नैतिक र भौतिक सहयोग गरिएको बताए । उनले यसै वर्षदेखि साविक लुम्बिनी अञ्चलका ६ जिल्लाहरू कपिलवस्तु, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा र अर्घाखाँचीमा प्रथम पक्ष (ओडी) सवारी साधनमा शतप्रतिशत लगानी गर्ने कार्यको सुरुवात गरिएको जानकारी दिए । हाल दुर्घटनापश्चात् घाइतेको उपचारका लागि ३ लाख र मृत्यु भएमा क्षतिपूर्तिबापत बिमाबाट ५ लाख पाप्त हुने बताउँदै अध्यक्ष फुल्लेलले यो रकमलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात क्षेत्र संकटमा परेको र विद्युतीय गाडीको बढ्दो प्रयोगसँगै मर्मत खर्च र पार्टपुर्जामा हुने भन्सार शुल्क लगायतका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा पूर्वअध्यक्ष चीनबहादुर गुरुङ लगायत विभिन्न उद्योग वाणिज्य संघ र व्यावसायिक संस्थाका प्रतिनिधिहरूले सडक सुरक्षाका लागि साझा एजेन्डा बनाएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, रुपन्देही ब्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, कोषका पूर्व सहसचिव काजिमान श्रेष्ठ लगायतले बोल्दै सडक दुर्घटना न्युनीकरणका लागि संस्थागत रुपमा तालिम र अभिमुखिकरणसँगै साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यसै अवसरमा संस्थाले दुर्घटनामा ज्यान गुमाएका चालक खेमबहादुर सारुको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । साथै, संस्थामा २५ वर्षभन्दा लामो समय सेवा गर्ने कर्मचारीहरू सरस्वती ढकाल अर्याल र निर्मल शर्मा पाण्डेलाई पनि विशेष सम्मान गरिएको थियो । यातायात क्षेत्रको पीडा र समस्या समाधानमा कोषले निर्वाह गरेको भूमिकाकै कारण यसको गरिमा समाजमा उच्च रहेको सहभागीहरूको निष्कर्ष थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : १७ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका