बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बुटवल उपमहानगरपालिका (प्रथम पक्ष) र बुटवल-१२, तामनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला (दोस्रो पक्ष) बीच “प्रदेश जनस्वास्थ्य प्रयोगशाला निदानात्मक परीक्षण सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८०” अनुसार सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको हो ।
सम्झौताअनुसार उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विभिन्न वडामा नमूना संकलनको व्यवस्था गर्नेछ भने प्रयोगशालाले आवश्यक जनशक्ति खटाई नमूना संकलन, ढुवानी तथा परीक्षण गर्ने जिम्मेवारी लिनेछ । नमूना संकलनका लागि आवश्यक सामग्री भने उपमहानगरपालिकाले उपलब्ध गराउनेछ ।
प्रयोगशालाले संकलित नमूनाहरू समयमै परीक्षण गरी नतिजा विद्युतीय माध्यमबाट सम्बन्धित ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । साथै परीक्षणपश्चात मुद्रित प्रति प्रतिवेदन समेत उपलब्ध गराइनेछ ।
सम्झौतामा ज्येष्ठ नागरिकका लागि रगतमा चिनी (अनियमित) परीक्षण, पिसाब सामान्य परीक्षण, क्रियाटिनिन परीक्षण, पूर्ण रक्त गणना, युरिक एसिड परीक्षण, एसजिपिटी (कलेजो सम्बन्धी एन्जाइम परीक्षण) र बिलिरुबिन (कुल र प्रत्यक्ष) परीक्षण मात्रै समावेश गरिएका छन् ।
त्यस्तै, नमूनासम्बन्धी विवरण स्पष्ट रूपमा उपलब्ध गराउने, अयोग्य नमूना भए पुनः संकलन गर्न अनुरोध गर्न सकिने, तथा बिरामीको विवरण गोप्य राख्ने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ ।
प्रयोगशालाले सेवा अवरुद्ध भएमा उपमहानगरपालिकालाई जानकारी गराउनुपर्नेछ भने ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक भएको पुष्टि गर्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
सेवा सञ्चालनका क्रममा संकलित नमूनाहरू प्रत्येक वडामा पुगेर संकलन गरिनेछ । साथै, मासिक रूपमा गरिएको परीक्षणको आधारमा निर्धारित राजस्व खातामा रकम दाखिला गर्ने व्यवस्था गरिएको छ ।
सम्झौता दुवै पक्षले हस्ताक्षर गरेको मितिबाट लागू हुने जनाइएको छ । सम्झौतामा बुटवल उपमहानगरपालिकाका तर्फबाट जनस्वास्थ्य अधिकृत युवराज पाण्डेय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तर्फबाट नि. निर्देशक राजेशकुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।


















प्रतिक्रिया