७ बैशाख २०८३, सोमबार | April 20, 2026

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै



बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको जितगढीमा प्राप्त ऐतिहासिक विजयको सम्झनामा यस वर्ष पनि विविध कार्यक्रमसहित ‘जितगढी उत्सव’ मनाइने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हुने कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ ।

कार्यक्रमअन्तर्गत बिहान ९ बजे उपप्रमुखद्वारा नुवाकोटमा गोरखाबाट आएका नेपाली सेनाको टोलीलाई स्वागत गरिनेछ । त्यसपछि बिहान १० बजे उपमहानगरपालिका परिसरबाट विभिन्न झाँकीसहितको र्‍याली नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ ।

बिहान १०:३० बजे बुटवल-१ स्थित गणेश मन्दिरमा नेपाली सेनाको टोलीलाई नगर प्रमुखद्वारा स्वागत गरिनेछ भने १०:४५ बजे कर्नेल उजिरसिंह थापाको सालिकअगाडि नेपाली सेनाद्वारा सलामी अर्पण गरिनेछ ।

मुख्य कार्यक्रम बिहान ११ बजे बुटवल-१ स्थित ऐतिहासिक जितगढी किल्लामा आयोजना हुनेछ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा जितगढी विजयको ऐतिहासिक महत्वबारे चर्चा गरिनेछ ।

यसैगरी साँझ ५ बजेदेखि सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

नगर प्रमुख पाण्डेयले ऐतिहासिक गौरव बोकेको जितगढी विजय दिवसमा सहभागिता जनाई कार्यक्रम सफल बनाउन सम्पूर्ण नगरवासी तथा सरोकारवालालाई अनुरोध गरेका छन् ।

किन मनाइन्छ जितगढी विजय उत्सव ?

अंग्रेज-गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्लाले हरेक नेपालीको छाती चौडा बनाउँदछ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढी’ यतीबेला सबै पुग्नै पर्ने एक गन्तब्य बनेको छ । यो गढीमा झण्डै २ सय वर्ष पुराना युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ ।

युद्ध सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु अहिलेपनि जस्ताको तस्तै रहेको छ, जीतगढीमा । त्यसो त जितगढीको विषयमा उल्लेखित तथ्यांकमा इतिहासकारबीच फरक-फरक धारणा छ । ईतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा भेटेको जितगढीको चर्चासहितको सामाग्री भेटिएपछि मात्र जितगढीको बिषयमा नेपालमा बहस हुन थालेको बताउँछन् ।

अमरसिंह थापाको समयमा भएको ‘अंग्रेज-गोर्खा युद्ध’मा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए । रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए । जीतगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्याङक आज पनि प्रष्ट छैन । नालापानी, देउथल आदि ठाउँका किल्ला र जीतगढी किल्ला वास्तुशास्त्रका आधारमा हेर्दा सँगसँगै बनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ । सेनकालमा पाल्पाको संरक्षण गर्न पूर्वतिर वाकुमगढी र पश्चिम दक्षिणपट्टि बल्ड्याङ्ग गढी थियो ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६-७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर-चितवन क्षेत्र, बारा-पर्सा-रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो । तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न जितगढी सफ भयो । जीतगढीलगायतका किल्लाहरु गोर्खा फौज डटेर नलडेको भए न हामी नेपाली भन्न पाउंथ्यौ न नेपाल रहन्थ्यो नै होला ।

जतीबेला बिशाल नेपाल बनाउने गोर्खालीको अभियान माथी अंग्रेजहरुले धावा बोलेका थिए त्यतिबेला भीमसेन थापा ३७ वर्षका थिए । भीमसेन थापाले युद्धमा आफ्नै होनहार भाइ कर्णेल रणवीरसिंह थापालाई मकवानपुर चितवनक्षेत्र र आफ्नो अधोषित धर्मपुत्र उजिरसिंहलाई बुटवल र पश्चिम नेपालका समग्र सामरिक केन्द्र हेर्ने पाल्पा गौंडा खटाएका थिए । जितगढी, दाउन्ने, चितवन, लोटन, समनपुर, हरिहरपुर आदि महत्वपूर्ण किल्ला जोडीएको थियो ।

सेनकालमा बुटवललगायत सेरोफेरोको भू-भागलाई अवधलाई रकम तिरेर सेनहरुले उपभोग गर्दै आएका थिए । पृथ्वीपालसेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय हुन गयो तर अवधको रकम लिएको आधार मान्दै बुटवललाई कम्पनि सरकारले आफ्नो भएको दाबी समेत गरेको थियो । यता गोर्खालीहरुको भने सेनराज्यको अधिनमा रहेको बुटवल र स्यूराज पनि नेपालकै हुनु पर्ने दाबी थियो । जनरल अमरसिंह थापाको ब्रिटिस साम्राज्यवादको विरुद्ध पंजाव केशरी रणजित सिंहसँग १३ बुंदे (सवाल) पत्र लेखेपछि कम्पनी सरकार आगो भएको थियो ।

कम्पनि सरकार र नेपाल सरकार संग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमा सम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ भन्ने व्यहोरालाई समेत बेवास्ता गर्दै कम्पनि सरकारले पूर्वको बाइस गाउँ, बुटवल र स्यूराजको खिचलो उठाएको थियो । सन् १८१४ नभेम्बर १ तारिखका दिन कम्पनी सरकारका जनरल हास्टिङगका माक्र्युसले नेपाल विरुद्ध एकतर्फ युद्ध घोषणा गरेको थियो । ब्यापारीक नाका कब्जागर्ने उद्देश्यले नै अग्रेजले बटौली र सिब्राज किल्ला कब्जा गर्न आक्रमण गरेको बताइन्छ ।

अंग्रेजले पाँच ठाउंँबाट आक्रमणको तैयारीमा सतलज र यमुनाबीचको भू-भागलाई कब्जा गर्नुका साथै विभिन्न नाकाबाट काठमाडौंसम्म ब्रिटीसले कब्जा हमला गर्ने योजना बनाएपनि सफल हुन सकेन । बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दूस्तानी फौज लिई वनारस गोरखपुर बुटवल हुदै पाल्पा हान्ने कम्पनी सरकारको योजना असफल भयो ।

त्यसै बेला आठ हजार नेपाली फौजहरु लोटनमा हमला गर्दैछन् भन्ने हल्लाले जनरल उड झन हतोत्साही भए । आफ्नो पहिलेको योजना लोटन, पाल्ही, मिनारी, स्यूराजलाई एकै पटक हमला गर्ने योजनालाई थाती राखी सबै छब्बीस कम्पनीका फौज र एघार वटा गन सहित बुटवल गौडा नै सबैभन्दा पहिले आक्रमण गर्ने निधो गरी बुटवलतिर बढेका थिए ।

केही समयपछि कम्पनीका फौजहरु एकत्र भएपछि जनरल उडले फौजलाई दुई समूहमा बाडे । एउटा समूहमा ग्रेनेडियर र दुई कम्पनी दिई क्रोकरलाई कमाण्डर बनाए र अर्को समूहमा युद्धको नेतृत्व जनरल उड आफैले लिएर फौजलाई अगाडि बढाए । दुवै पक्षबीच घमासान युद्ध भएको थियो । युद्धमा सबै प्रकारका रणनीति अपनाइन्छ भने जस्तै कर्णेल उजीरसिंह थापाले पनि युद्धमा हटकण्डा अपनाएै अंग्रेज माथि युद्ध जीतेको इतिहासमा भेट्न सकिन्छ ।

किल्लाको दाहिने तिरबाट हमला गर्ने टोलीबाट नेपाली फौजका सरदार सूर्य थापाले वीरगति प्राप्त गरेका थिए । सरदार थापाको बिरगतीसंगै कर्णेल उजीरसिंह थापाको नेतृत्वमा नुवाकोटमा रहेको बाकी सवूज र गुरुवक्स पल्टनका फौजहरु लिई जितगढी भित्रैबाट युद्धको नेतृत्व गर्न आईपुगेका थिए ।

लडाइमा कम्पनी फौजका ब्रीगेड मेजर हैट र इन्जिनियर लेफ्टिनेन्ट मोरिशन नराम्ररी घाइते भएका थिए । गोरखालीहरुको सैनिक शक्ति भन्दा अंग्रेजहरुको शक्ति बढि भएकोले अंग्रेजहरुले युद्ध त लडिरहेका थिए तर नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देख्दा जनरल जोन सुलिभान उडको जोश हराइसकेको थियो । सधै रक्षात्मक युद्ध लढ्ने गोर्खाली फौज एक्कासी आक्रमक शैलीमा प्रस्तुत भएपछि उडको दिमागले ठाउ छाडी सकेको इतिहास साझी छ । लगातार घरेलु हतियारको साथमा युद्ध लड्दा पनि गोर्खाली फौजपछि हट्ने छाट नदेखाएपछि आफ्नो सहयोगी हार्डीम्यानसंग सल्लाह गरी जनरल उडले युद्ध भूमि छाड्ने आदेश दिएका थिए ।

पहिलो पटकको युद्धमा कतिको ज्यान गयो भन्ने सम्बन्धमा ईतिहासकारसग फरक-फरक तथ्यांक छ । बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हुदै जनवरी ३ तारिखका दिन लोटन पुगे । जनरल उडलाई बुटवल जीतगढीको विफलताले पिरोलीरहेको थियो । उनी निरन्तर जितगढी हान्ने प्रयत्नमा लागी नै रहे । एकैचोटि बुटवल नहानी पहिले स्यूराज, तुल्सीपुर आक्रमण गरी पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको थाहा पाउने बित्तीकै बटौली माथी दोस्रो आक्रमण सुरु गरेका थिए ।

यसबेला मनसुन सुरु भइसकेको र मौसम खराब भइसकेको थियो । वर्षा लाग्नाले तिनाउ नदी बढी सकेको थियो । नदी तर्न नसकी कम्पनी फौज तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै पुरानो खस्यौली हाल बुटवल उपमहानगरपालिका तिरबाट बुटवल दरबारमा तोप आक्रमण सुरु गर्यो । वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुइ तोपका गोला छोडे । अंग्रेजहरुले गर्दै गरेको गोलाबारीको पारी बुटवलबाट केही जवाफ कारवाही भएन । अंग्रेज फौजले गरेको अठार पाउण्डको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजले बुटवल बजार र जितगढी शुन्य भएको अनुमान गरे । कुनै किसिमको खतरा नदेखी फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए । उडका सेनाहरुले तिनाउ नदी पार गर्न लागेको मात्र थियो, अभेद्य रुपमा रहेको जितगढीबाट गोलीको पर्रा छुट्यो । धेरै अंग्रेस सेनाहरुको टिनाउ किनारमै मृत्यु भयो भने बाचेका सेनाहरु भागाभाग भए ।

वर्षा सुरु भइसकेको र मलेरिया ज्वरोदेखि अति नै डराउने अंग्रेजहरु नेपाली सेनाको रणकौशल र साहस समेटिएको बुटवल र जितगढीसंग फेरी झुके र आफ्नो सेना त्यहाबाट फिर्ता बोलाउने निर्णय गरे । जीतगढीको लडांईमा सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत सहित पांच सय जनाले वीरगति प्राप्त गरेपछि मात्र नेपालीहरुले युद्ध जितेका थिए । युद्धमा काजी वीर भञ्जन पाण्डेको सुझबुझ र कर्णेल उजीरसिंह थापाको रण कौशलता नै जीतको प्रमुख कारण थियो ।

बिश्व बिजेता अंग्रेजहरुलाई धुलो चटाउन सफल जितगढीले जोगाएको हाम्रो शान माथी नेपालका धरै शासकहरुले शासन गरिसकेका छन् । उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई जीतगढी भनिएको ईतिहांसकारको तर्क छ ।

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २०५ फिट छ र चौडाई करिव ५५ फिट छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर सांगुरो हुंदै गईराखेको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा छ । भित्ताको मोटाई ८ फुट ४ इन्च छ । गढीको भित्री भाग खुल्ला छ । यो गढीको निर्माण ईटा र सुर्खीको प्रयोगबाट भएको छ । करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएको छ ।

गढीमा शत्रुले आक्रमण गरेको बेला प्रत्याक्रमण गर्ने बुर्जा अर्धगोलाकार रुपमा निर्माण गरिएको छ । वुर्जाहरुमा चरहरु बनाइएका छन् । यी चरहरु बन्दुक छिराई आक्रमण गर्न सजिलो हुने हिसाबले निर्माण गरिएको हो ।

पश्चिम नेपालको व्यापारिक केन्द्र तथा प्रदेश राजधानी बुटवल उपमहानगरपालिका वडा नम्बर १ को जितगढि किल्ला पूरानो बटौली शहरको तिनाउ नदि किनारमा छ ।

मध्येकालिन नेपालको ऐतिहासमा महत्वपूर्ण स्थान राख्ने सेनवंशी राजाहरुको पालामा बनेको यो गढि किल्लाले नेपालको एकिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । यस गढिको संरक्षण र प्रचार-प्रसार हुन सके बुटवल क्षेत्रकै अतितको गौरबमय इतिहासलाई सम्झाउदै सांस्कृतिक पर्यटनको विकासमा महत्वपूर्ण भुमिका खेल्ने निश्चित छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : ३९ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै