वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनपछि चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिद उल्लेखनीय रूपमा बढाउने सहमति जनाएको छ । विशेषगरी गोमांस, कुखुराको मासु र भटमासजस्ता उत्पादनको व्यापार विस्तार गर्ने समझदारी भएपछि लामो समयदेखि व्यापार युद्धको असर झेलिरहेका अमेरिकी किसानहरूमा नयाँ आशा जागेको छ ।
ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको विवरणअनुसार चीनले सन् २०२६ का लागि वार्षिक १७ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्ने सहमति जनाएको छ । यही स्तरको खरिद सन् २०२७ र २०२८ मा पनि कायम राखिने बताइएको छ । ट्रम्प प्रशासनले यसलाई अमेरिकी कृषि क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
सम्झौताअनुसार चीनले अमेरिकी गोमांसको बजार पहुँच पुनः खुला गर्नेछ भने अमेरिकी कृषि विभागले बर्ड फ्लूबाट मुक्त घोषणा गरेका राज्यहरूबाट कुखुराको मासु आयात फेरि सुरु गर्नेछ । यी प्रतिबद्धताहरू यसअघि चीनले अमेरिकी भटमास खरिदका लागि जनाएको सहमतिभन्दा अतिरिक्त हुने ह्वाइट हाउसले जनाएको छ ।
व्यापार युद्धका कारण विगत केही वर्षयता अमेरिकी किसानहरूले चीनजस्तो विशाल बजार गुमाउँदै आएका थिए । विशेषगरी भटमास किसानहरू सबैभन्दा बढी प्रभावित भएका थिए, किनकि चीन परम्परागत रूपमा अमेरिकी भटमासको सबैभन्दा ठूलो विदेशी खरिदकर्ता मानिन्थ्यो । ट्रम्प प्रशासनले चिनियाँ वस्तुहरूमा अतिरिक्त कर लगाएपछि चीनले अमेरिकी भटमास खरिद लगभग बन्द गरिदिएको थियो ।
अमेरिकी कृषि विभागको तथ्याङ्कअनुसार चीनले सन् २०२२ मा अमेरिकाबाट करिब ३८ अर्ब डलर बराबरका कृषि वस्तु आयात गरेको थियो । तर व्यापार तनाव चर्किँदै जाँदा यो रकम घटेर सन् २०२५ मा केवल आठ अर्ब डलरमा सीमित भएको थियो । त्यसमध्ये भटमास खरिद मात्रै सन् २०२२ मा करिब १८ अर्ब डलर बराबर रहेकामा २०२५ मा घटेर तीन अर्ब डलरमा झरेको थियो ।
ह्वाइट हाउसका अनुसार गत अक्टोबरमा भएको व्यापार युद्धविरामपछि चीनले चालु बजार वर्षमा एक करोड २० लाख मेट्रिक टन अमेरिकी भटमास खरिद गर्ने तथा आगामी तीन वर्षमा प्रत्येक वर्ष दुई करोड ५० लाख मेट्रिक टन खरिद गर्ने प्रतिबद्धता जनाएको छ । यद्यपि यसपटकको नयाँ सम्झौतामा चीनले भटमास खरिद कति थप बढाउनेछ भन्ने स्पष्ट भइसकेको छैन ।
यसबीच चीनले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्न थालेपछि कृषि आयातको स्रोत विविधीकरण पनि गरिरहेको छ । अमेरिकी उत्पादनमा निर्भरता घटाउँदै चीनले ब्राजिल, अर्जेन्टिना लगायत अन्य देशहरूबाट पनि भटमास, गोमांस र अन्य कृषि सामग्रीको आयात बढाएको छ ।
चिनियाँ पक्षबाट भने सम्झौताका सबै सर्तहरूको तत्काल औपचारिक पुष्टि भएको छैन । तथापि, चीनको वाणिज्य मन्त्रालयले शनिबार दुवै पक्षबीच कृषि वस्तुसम्बन्धी ‘केही गैर–भन्सार अवरोध र बजार पहुँचका मुद्दामा महत्त्वपूर्ण प्रगति’ भएको जनाएको थियो ।
मन्त्रालयका प्रवक्ताका अनुसार अमेरिकाले दुग्धजन्य उत्पादन, समुद्री खाद्य पदार्थ तथा अन्य कृषि निर्यातसम्बन्धी चिनियाँ चासोलाई सम्बोधन गर्न सक्रिय भूमिका खेल्नेछ । बदलामा चीनले अमेरिकी गोमांस प्रशोधन केन्द्रहरूको दर्ता र केही राज्यहरूबाट कुखुराको मासु आयातसम्बन्धी अमेरिकी चिन्तालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
दुवै देशले ‘विशिष्ट उत्पादनहरूको दायरा’ मा परस्पर शुल्क कटौती गर्ने विषयमा पनि सहमति जनाएको चिनियाँ पक्षले बताएको छ । यद्यपि कुन-कुन उत्पादनमा शुल्क घटाइनेछ भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
ट्रम्प-सी शिखर सम्मेलन केवल कृषि व्यापारमै सीमित रहेन । दुवै नेताले अमेरिकी व्यवसायहरूलाई चिनियाँ बजारमा थप पहुँच दिने र अमेरिकी उद्योगहरूमा चिनियाँ लगानी बढाउने विषयमा पनि छलफल गरेका थिए । त्यसका लागि व्यापार तथा लगानीसम्बन्धी छुट्टाछुट्टै संयुक्त समिति स्थापना गर्ने समझदारी बनेको छ । यी संयन्त्रहरूले गैर-संवेदनशील वस्तुको व्यापार व्यवस्थापन तथा लगानीसम्बन्धी विवाद समाधानमा सहकार्य गर्ने अपेक्षा गरिएको छ ।
ह्वाइट हाउसका अनुसार व्यापार समितिले दुई देशलाई विशेष उत्पादनहरूमा शुल्क कटौतीलगायतका विषयमा निरन्तर संवादको माध्यम प्रदान गर्नेछ । चिनियाँ वाणिज्य मन्त्रालयले पनि दुवै देशले सम्बन्धित सरोकारका उत्पादनमा ‘समान स्तरमा शुल्क घटाउने सिद्धान्त’ मा सहमति जनाएको उल्लेख गरेको छ ।
यसैबीच ट्रम्प प्रशासनमाथि अर्को दबाब पनि बढिरहेको छ । अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण हर्मुज जलघाँटी हुँदै हुने ढुवानी प्रभावित बनेको छ । यसले विश्वव्यापी मल आपूर्तिमा अवरोध सिर्जना गर्दै मूल्य वृद्धि गराएको छ, जसको असर अमेरिकी किसानहरूले समेत महसुस गर्न थालेका छन् ।
अमेरिकी गोमांस उद्योगले पनि यो सम्झौताबाट राहतको अपेक्षा गरेको छ । ह्वाइट हाउसका अनुसार टाइसन र कार्गिलजस्ता कम्पनीद्वारा सञ्चालित सयौँ अमेरिकी गोमांस प्रशोधन केन्द्रहरूले फेरि चीनमा निर्यात गर्न पाउने भएका छन् । चीनले गत वर्ष सयौँ अमेरिकी गोमांस प्रशोधन केन्द्रहरूको अनुमति नवीकरण नगरेपछि अमेरिकी निर्यात तीव्र रूपमा घटेको थियो ।
अमेरिकी कृषि विभागको तथ्याङ्कअनुसार चीनमा अमेरिकी गोमांसको निर्यात मूल्य २०२५ मा ५० करोड डलरभन्दा कममा झरेको थियो, जबकि चीनले २०२२ मा मात्रै दुई अर्ब १४ करोड डलर बराबरको अमेरिकी गोमांस खरिद गरेको थियो ।
कुखुराको मासु निर्यातमा पनि उल्लेखनीय गिरावट आएको थियो । अमेरिकाबाट चीनतर्फ कुखुराको मासु तथा सम्बन्धित उत्पादनहरूको निर्यात २०२५ मा २८ करोड ६० लाख डलरमा सीमित भएको थियो, जबकि २०२२ मा यो रकम एक अर्ब डलरभन्दा बढी थियो ।
भटमास अमेरिकी कृषि निर्यातको प्रमुख आधारमध्ये एक मानिन्छ । चीनमा पशुखाद्य तथा जैव इन्धन उत्पादनका लागि व्यापक रूपमा प्रयोग हुने भटमासको निर्यातले विगतमा अमेरिकाबाट चीन जाने कुल कृषि निर्यातको झन्डै आधा हिस्सा ओगट्थ्यो ।
अमेरिकी कृषि विभागका अनुसार मे ७ सम्म अमेरिकाले चीनतर्फ एक करोड नौ लाख मेट्रिक टन भटमास निर्यात गरिसकेको छ । यसले चालु बजार वर्षको अन्त्यसम्म चीन आफ्नो अघिल्लो खरिद प्रतिबद्धता पूरा गर्ने दिशामा रहेको सङ्केत गरेको छ । तर यो मात्रा विगतमा चीनले खरिद गर्दै आएको दुई करोड ५० लाखदेखि तीन करोड मेट्रिक टनको तुलनामा अझै निकै कम हो ।
मार्च अन्त्यमा ट्रम्पको बेइजिङ भ्रमणको प्रारम्भिक योजना सार्वजनिक हुँदा अमेरिकी भटमास सङ्घले चीनसँगको वार्तामा भटमासलाई प्राथमिकता दिन आग्रह गरेको थियो । सङ्घका अध्यक्ष स्कट मेट्जरले बजारमा स्थायित्व र निश्चितता कायम हुनु किसानहरूका लागि अत्यन्त आवश्यक रहेको बताए ।
उनले अमेरिकी किसानहरू आगामी वर्षका लागि लगानी र उत्पादनसम्बन्धी निर्णय गर्न बजारप्रतिको विश्वास महत्त्वपूर्ण हुने उल्लेख गर्दै चीनबाट थप खरिद प्रतिबद्धता र त्यसको कार्यान्वयन निरन्तर देख्न चाहेको बताए ।




















प्रतिक्रिया