२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम



लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँसे तथा झाडी क्षेत्रको आगलागी) तीव्र हावाका कारण तीव्र रूपमा फैलिँदा हजारौँ बासिन्दालाई घर छोड्न बाध्य पारिएको छ । आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू सङ्घर्षरत रहँदा अधिकारीहरूले विभिन्न क्षेत्रमा आकस्मिक निकासी आदेश जारी गरेका छन् ।

लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब ४० माइल अर्थात् ६० किलोमिटर उत्तरपश्चिममा रहेको सिमी भ्यालीमा सोमबार बिहान आगो सुरु भएको थियो । करिब एक लाख २५ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा आगो फैलिन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकाय उच्च सतर्कतामा पुगेका छन् ।

क्यालिफोर्नियाको अग्निनियन्त्रण निकाय क्यालफायरका अनुसार सोमबार साँझसम्म प्रतिघण्टा ३५ माइल अर्थात् ५६ किलोमिटरको गतिमा चलेको हावाले आगोलाई अझ फैलाउन मद्दत गरेको थियो । तीव्र हावाका कारण आगलागी छोटो समयमै एक हजार ३६४ एकड अर्थात् ५५२ हेक्टर क्षेत्रफलमा फैलिएको जनाइएको छ ।

आगलागीका कारण कम्तीमा एउटा घरमा क्षति पुगेको पुष्टि भएको छ । यद्यपि हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको विवरण सार्वजनिक गरिएको छैन । अधिकारीहरूले आगो थप बस्ती क्षेत्रमा फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सिमी भ्याली र छिमेकी सहर थाउजेन्ड ओक्सका केही भागमा तत्काल निकासी आदेश जारी गरेका छन् ।

त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि निकासी चेतावनी जारी गरिएको छ । स्थानीय प्रशासनले बासिन्दाहरूलाई आवश्यक सामग्री तयारी अवस्थामा राख्न, सुरक्षासम्बन्धी सूचनामा ध्यान दिन र परिस्थिति बिग्रिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

लस एन्जलसका मेयर करेन बासले पत्रकार सम्मेलनमार्फत निकासी चेतावनी जारी भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्नुरे । उनले तत्काल घर छोड्न आवश्यक नभए पनि परिस्थिति जटिल बन्न सक्ने भएकाले पूर्वतयारी अवस्थामा रहनुपर्ने बताए ।

मेयर बासका अनुसार हालको अवस्थालाई हेर्दा आगो लस एन्जलस सहरसम्म पुग्ने सम्भावना कम देखिएको छ । तर मौसम र हावाको अवस्थाले परिस्थिति जुनसुकै बेला बदलिन सक्ने भएकाले सुरक्षा निकायले निगरानी र नियन्त्रण प्रयासलाई निरन्तरता दिएका छन् ।

सोमबार साँझतिर हावाको गति केही कमजोर भए पनि क्यालफायरले आगो नियन्त्रण अझै चुनौतीपूर्ण रहेको जनाएको छ । मौसम पूर्वानुमानमा उच्च तापक्रम, दिउँसोको कम आद्र्रता तथा भूभागबाट प्रभावित हावाले आगो निभाउने प्रयासमा कठिनाइ थपिरहेको उल्लेख गरिएको छ ।

अमेरिकाको पश्चिमी क्षेत्रमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण यस्ता वन तथा झाडीजन्य आगलागीका घटना बढ्दै गएका छन् । क्यालिफोर्निया विशेष रूपमा हरेक वर्ष भीषण आगलागीको जोखिममा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  १२ : ५४ बजे

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन्

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज