काठमाडौँ । यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक देखिएको छ । सामान्यतया मार्चदेखि मेसम्मको (फागुन १६ देखि जेठ १५ सम्म) अवधि प्रि–मनसुन मानिन्छ, जुन समयमा सामान्यतया गड्याङगुडुङ गर्दै छोटो समयको वर्षा, हावाहुरी र केही दिनको अस्थिर मौसम देखिन्छ । तर, यस वर्ष भने मार्चको सुरुदेखि नै लगभग दैनिकजसो वर्षा भइरहेको छ र त्यो क्रम अझै पनि जारी छ । देशका धेरै भागहरूमा लगातार बादल लाग्ने, मध्यमदेखि भारी वर्षा हुने, चट्याङ तथा असिना पर्ने घटनाहरू बारम्बार धेरै ठाउँमा देखिएका छन् । दुई महिनादेखि भइराखेको वर्षाको प्रमुख मौसमी प्रणाली सक्रिय पश्चिमी वायु नै हो ।
सामान्यतया जाडो याममा बढी प्रभावकारी हुने पश्चिमी वायु यस वर्ष प्रि–मनसुन अवधिमा पनि अत्यन्त सक्रिय देखिएको छ । यसले नेपालभरि लामो समयसम्म लगातार वर्षा गराई राखेको छ ।
देशका विभिन्न मौसम केन्द्रहरूले पछिल्ला दुई महिनामा उल्लेखनीय वर्षा रेकर्ड गरेका छन् । केही वर्षदेखि हिउँदे (१५ मङ्सिर देखि १५ फागुनसम्म) वर्षामा उल्लेखनीय कमि आएको देखिन्छ तर चैत वैशाखमा वर्षाको मात्रा राम्रैसँग बढेको पनि छ । जल तथा मौसम विज्ञान विभागको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको वर्षा मापक केन्द्रको आँकडा हेर्दा यो वर्ष २०२६ को चार महिना जनवरी, फरबरी, मार्च र अप्रिलको वर्षा अस्वभाविक होइन ।
सन् १९९१ देखि २०२० (३० वर्ष)सम्म को यी चार महिनाको औसत कूल वर्षा हेर्दा १२६ मि मि रहेकामा यो वर्षा २०२६ मा यो चार महिनाको अवधिमा जम्मा १२० मि मि वर्षा रेकर्ड गरिएको छ । यसैगरी विगत ३० वर्षमा औसत २० दिन वर्षा हुने गरेकामा यो वर्ष २० दिन नै वर्षा रेकर्ड गरिएको छ । विगत १० वर्ष जस्तै सन् २०१७, २०१९, २०२० र २०२२, मा औसतभन्दा बढी वर्षा भएको छ । यसमा सन् २०१९ मा २२५ मि मि (४० दिन) र सन् २०१६, २०१८, २०२१, २०२३, २०२४ र २०२५ मा औसतभन्दा कम वर्षा भएको छ । त्यसमध्ये पनि सन् २०१६, २०२२ र २०२४ मा ५० मि मि भन्दा कम वर्षा भएको थियो । यसैगरी २०२४ मा जम्मा आठ दिन मात्र वर्षा भएको थियो ।
मध्यम अवधिको मौसम पूर्वानुमानले आगामी दुई हप्तासम्म पनि वर्षा प्रणाली सक्रिय रहने सङ्केत दिएको छ । अर्थात् जेठ महिनाको अन्त्यसम्म धेरै स्थानहरूमा वर्षा जारी रहने सम्भावना देखिन्छ । यद्यपि, त्यसपछि भने मौसमको ढाँचा अचानक परिवर्तन हुने सङ्केतहरू देखिन थालेका छन् । जुन महिनादेखि क्रमशः सुक्खा अवस्था विकसित हुनसक्ने अनुमान गरिएको छ, जुन आगामी मनसुनका लागि चिन्ताजनक सङ्केत हुन सक्छ ।
यस वर्षको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित ‘सुपर एल निनो’ अवस्था हो । एल निनो एक जलवायु प्रणाली हो, जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ । जब एल निनो अत्यधिक बलियो हुन्छ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम औसतभन्दा दुई डिग्री वा त्योभन्दा बढी हुन्छ, त्यसलाई ‘सुपर एल निनो’ भनिन्छ । अनुसन्धानले देखाएको छ कि बलियो एल निनोका वर्षहरूमा दक्षिण एसियाली मनसुन प्रायः कमजोर हुने गर्छ र नेपालमा पनि सुपर एल निनोको भएका पछिल्ला वर्षहरुमा औसतभन्दा धेरै कम वर्षा भएको तथ्याङ्क देखिन्छ ।
आगामी छ महिना (सम्भावना त्योभन्दा बढी पनि) सम्मको संसारभरको मौसम यही एल निनोले प्रभाव पर्ने देखिन्छ । त्यसैको कारणले तापक्रम बढ्ने, कुनै ठाउँमा सुख्खा त कुनै ठाउँमा भीषण वर्षा हुने र कृषि उत्पादनलाई सबैभन्दा धेरै प्रभाव पार्ने देखिन्छ । सबैभन्दा धेरै असर यो मनसुनमा एसियामा सुक्खा हुने हुँदा धान उत्पादन घट्ने सम्भावना छ ।
नेपालका लागि मनसुन केवल मौसमीय घटना मात्र होइन, अर्थतन्त्रको आधार पनि हो । नेपालको कृषि प्रणाली वर्षामा अत्यधिक निर्भर छ । धान, मकैलगायतका प्रमुख बालीहरू समयमै पर्ने मनसुन वर्षामा आधारित हुन्छन् । यदि यस वर्ष मनसुन कमजोर भयो भने धान रोपाइँमा ढिलाइ, उत्पादनमा गिरावट, तथा खाद्य सुरक्षामा चुनौती आउन सक्छ । यो वर्ष देखिएको ढाँचाले वर्षाको समयगत स्थानान्तरण भएको सङ्केत दिन्छ । पूर्व–मनसुन अवधिमा अत्यधिक वर्षा भइरहेको छ भने मुख्य मनसुन समयमा कम वर्षा हुनसक्ने सम्भावना बढ्दो छ ।
प्रि–मनसुनको वर्षाले तत्कालका लागि माटोमा आद्र्रता बढाउने र केही बालीलाई फाइदा पु¥याउने भए पनि, दीर्घकालीन रूपमा मनसुनकै वर्षा कृषि उत्पादनका लागि निर्णायक हुन्छ । विशेष गरी असार–साउनमा पर्याप्त पानी नपरे धानखेतीमा ठूलो असर पर्न सक्छ । यसको असर कृषि क्षेत्रमा मात्र सीमित रहने छैन । नेपालको समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान भएकाले उत्पादन घट्दा खाद्यान्नको मूल्य वृद्धि हुन सक्छ । आयात निर्भरता बढ्न सक्छ र व्यापार घाटा थप गहिरिन सक्छ । ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानीमा पनि प्रत्यक्ष असर पर्नेछ ।
यसको प्रभावका कारण जलविद्युत् क्षेत्रमा पनि चुनौती थपिन सक्छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदीको बहावमा आधारित छन् । यदि मनसुन कमजोर भयो भने नदीमा पानीको मात्रा घट्न सक्छ, जसले विद्युत् उत्पादनमा कमी ल्याउन सक्छ । ऊर्जा सङ्कटको सम्भावना बढ्नुका साथै औद्योगिक उत्पादन र दैनिक जीवनमा समेत असर पर्न सक्छ । पर्यटन क्षेत्रमा पनि दोहोरो प्रभाव देखिन सक्छ । पूर्व–मनसुनमा लगातार वर्षाले ट्रेकिङ, हिमाल आरोहण र आन्तरिक पर्यटनमा बाधा पु¥याउन सक्छ । त्यसपछि यदि लामो सुख्खा अवस्था विकसित भयो भने हिमाली तथा प्राकृतिक जलस्रोतहरूको सौन्दर्य र आकर्षणमा असर पर्न सक्छ ।
यस परिस्थितिमा सरकार र सम्बन्धित निकायहरूले समयमै रणनीतिक तयारी गर्नु अत्यावश्यक देखिन्छ । कृषि क्षेत्रमा सिँचाइ व्यवस्थाको विस्तार, कम पानी चाहिने बालीहरूको प्रवद्र्धन तथा मौसमअनुकूल खेती प्रणाली अपनाउनुपर्ने आवश्यकता छ । किसानहरूलाई समयमै सिजनल पूर्वानुमान र मौसम सूचना उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण हुन्छ ।
त्यसैगरी, जलस्रोत व्यवस्थापनलाई दीर्घकालीन रूपमा पुनः सोच्नुपर्ने आवश्यकता देखिएको छ । जलाशय निर्माण, वर्षा पानी सङकलन, तथा बहुउद्देश्यीय सिँचाइ योजनाहरूमा लगानी बढाउनुपर्ने अवस्था आएको छ । यो अवस्था जलवायु परिवर्तनसँग पनि जोडिएको हुनसक्छ । पछिल्ला वर्षहरूमा नेपालमा मौसमीय चरम घटनाहरू अत्यधिक वर्षा, लामो खडेरी, असिनापानी, गर्मीको लहर बढ्दै गएका छन् । यस वर्षको असामान्य प्रि–मनसुनको वर्षा र सम्भावित सुख्खा मनसुन भविष्यमा अझ जटिल जलवायु चुनौतीहरूको सङ्केत हुन सक्छ ।
अहिले देखिएको लगातार वर्षा तत्कालका लागि राहतजस्तो देखिए पनि, त्यसले आगामी कमजोर मनसुनको सङ्केत दिन सक्छ । यदि सम्भावित सुपर एल निनोका कारण मनसुन कमजोर भयो भने त्यसको असर कृषि, ऊर्जा, पर्यटनदेखि समग्र राष्ट्रिय अर्थतन्त्रसम्म फैलिन सक्छ । त्यसैले अहिलेको मौसमीय अवस्थालाई सामान्य घटनाका रूपमा नलिएर, वैज्ञानिक विश्लेषण र दीर्घकालीन तयारीका साथ अघि बढ्नु समयको आवश्यकता हो । यति हुँदाहुँदै पनि नेपालमा एल निनोको समयमा पनि मनसुनमा वर्षा राम्रै हुने थोरै सम्भावना भने बाँकी रहन्छ किनकी नेपालमा मनसुनको अवस्था भारतको भन्दा फरक देखिन्छ । त्यसैले एउटा सकारात्मक सोच राख्ने ठाउँ भने बाँकी नै राखेर पूर्वानुमान गरिएको मौसमी प्रणाली भन्दा धेरै वर्षा हुने आशा गरौँ । (लेखकद्वय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन्)



















प्रतिक्रिया