काठमाडौं । शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ । मधेस प्रदेशलगायत कोसी र वाग्मती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा अधिकांश स्थानमा बादल लाग्ने अनुमान छ । बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ ।
रातिको समयमा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिममध्य बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान ८ः१५ बजे जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि उत्तर-उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको चक्रवात कमजोर हुँदै बिहीबार बिहानसम्म ‘डीप डिप्रेसन’मा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
चक्रवातको प्रभावका कारण बुधबारदेखि नै नेपालको वायुमण्डलमा बादल लागेको छ । बिहीबारदेखि यसको प्रभाव क्रमशः बढ्न सक्ने अनुमान गरिएको छ । यसअघि महाशाखाले बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरेको थियो ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले शनिबारसम्म धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । पर्यटकलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा रहनसमेत आग्रह गरिएको छ ।
वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त क्षेत्रमा पहिरो जान सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
















प्रतिक्रिया