नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको पेडारी नालाको पुलले ६० वर्ष पछि मुक्ति पाउने भएको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालयबाट नयाँ पुल बन्ने भएपछि ६० वर्ष भन्दा पुरानो र जिर्ण पुलबाट यात्रा गर्न बाध्य यात्रीहरुले जोखिमपूर्ण यात्राबाट मुक्ति पाउने भएका हुन् ।
जिर्ण भएर कुनैपनि बेला दुर्घटना हुन सक्ने अवस्थामा पुगेको पेडारी नालाको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हुलाकी राजमार्गको योजना कार्यालय नेपालगन्जका अनुसार ९७ प्रतिशत कार्य सम्पन्न भएको छ । ३४.४ मिटर लम्बाई र २२ मिटर चौडाई रहेको ४ लेनको पुल नारायणी निर्माण सेवाले ८ करोड ९६ लाख ३ हजार ६८ रुपैयाँमा ठेक्का सम्झौता गरि निर्माण थालेको थियो । ठेक्का सम्झौताको म्याद सकिन ६ दिन बाँकी रहँदा ९७ प्रतिशत बढी कार्य सम्पन्न भएको छ । ठेक्का सम्झौता बमोजिम जेठ १९ गते सम्ममा कार्य सम्पन्न गरिसक्नु पर्ने छ ।
सुरुवाती चरणमा तिब्र गतिमा काम गरेर स्थानीयबाट प्रशंसा पाएको निर्माण कम्पनीले पछिल्लो समयमा कामको गतिलाई सुस्त बनाउँदा नेपालगन्ज-गुलरिया सडक भएर यात्रा गर्ने यात्रुहरुले हरेक दिन सास्ती खेपिरहेका छन् । पुल निर्माणका क्रममा बैकल्पिक बाटो नबनाइदिँदा र निर्माणाधिन पुलमा पनि सुरक्षाका व्यवस्था नगरिदिँदा धुलोको सास्ती खेप्नु पर्ने र माटोमा पानी हाल्दा सवारी चिप्लिएर दिनहुँ दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् । पानी नहाल्दा धुलाम्य हुने र पानी हाल्दा हिलाम्य भएर दुर्घटना हुने गरेको खजुराका स्थानीय दीपक ढकालले बताए । उनले कालोपत्रे नहुँदा सम्म ग्राभल हालेर यात्रा गर्न सहज बनाउने कार्य गर्न आवश्यक रहेको बताए ।
सडकलाई दिर्घकालिनरुपमा बलियो बनाउन ‘कम्प्याक्सन’ पुरा हुनु पर्ने भएका कारण काममा केही ढिलाई जस्तो देखिएको निर्माण व्यवसायी जयबहादुर खत्रीले बताए । ‘एकैपटक माटो पटान गरि कालोपत्रे गर्दा पछि भासिने सम्भावना हुन्छ,’ खत्रीले भने, ‘माटो हाल्दै रोलर लगाउँदै ‘कम्प्याक्सन’ पूरा गर्नु पर्ने भएकाले समय लागेको हो, एक हप्ताभित्र कालोपत्रै बाहेकको काम सकिन्छ ।’
उनले थोरै समय म्याद थपेर भदौमा मात्र कालोपत्रे गर्ने तयारी गरिएको जानकारी दिए । पुलको ५० मिटर दाँया बाँयापछि अर्को ठेकेदारबाट काम भइरहेको जनाउँदै दुबै कम्पनीको समन्वयमा मात्र कालोपत्रेको काम सम्भव हुने उनले बताए ।
हुलाकी सडक निर्देशनालय, योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले सडकको गुणस्तर स्तरिय बनाउन ‘कम्प्याक्सन’ पूरा हुन जरुरी रहेको बताए । उनले पुल निर्माणको ९७ प्रतिशत बढी कार्य सम्पन्न भइसकेको र सवारी आवागमन समेत खोलिसकिएको जनाउँदै ‘कम्प्याक्सन’ पूरा गर्न र पुलको दाँयाबाँया निर्माणाधीन स्तरउन्नतीको काम समेत सँगसँगै लैजान आवश्यक भएकाले केही समय लाग्न सक्ने बताए । कार्य सम्पन्न भएको १ वर्ष निर्माण व्यवसायीले योजनाको मरमत सम्भारको जिम्मेवारी लिनुपर्ने भएका कारण पनि सो अवधिसम्म गुणस्तरिय पुल र सडक स्थानीयले पाउने उनको भनाई छ ।




















प्रतिक्रिया