२५ जेष्ठ २०८३, सोमबार | June 8, 2026

‘ब्यारेकजस्तै घर’



बाँके । बाँकेको नेपालगन्ज-१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ ।

शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी देख्दा घर होइन, ब्यारेकजस्तै अनुभूति हुने गरेको छ ।

सिंहको परिवारमा तीन पुस्तादेखि सुरक्षाकर्मी बन्ने परम्परा चल्दै आएको छ । घरका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध हुँदै देशको शान्ति, सुरक्षा र सीमाको रक्षामा समर्पित छन् । हिसाब गर्दा परिवारका करिब एक दर्जन सदस्य सुरक्षाकर्मीका रूपमा राष्ट्रसेवामा जोडिएका छन् ।

हालै सशस्त्र प्रहरी बलको प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिएका सिंहका अनुसार परिवारमा सुरक्षासेवाको यात्रा उनका बुबा जबर सिंहबाट सुरु भएको थियो । नेपाल प्रहरीमा कार्यरत बुबा जबरसिंहले स्थापित गरेको त्यही देशप्रेमको प्रेरणाबाट सुरेन्द्र स्वयं सशस्त्र प्रहरीमा आबद्ध भए । हाल उनका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहेका छन ।

“सुरक्षा निकायमा रहेका परिवारका सदस्यको सङ्ख्या करिब एक दर्जन पुग्छ । त्यसैले हाम्रो त घर नै ब्यारेकजस्तै छ”, सुरेन्द्र मुस्कुराउँदै भन्छन, “देशको सेवा गर्न पाएकामा गर्व लागेको छ । बुबाको पालादेखि नातिसम्म राष्ट्रसेवाको परम्परा फैलिएको देख्दा झनै गर्व महसुस हुन्छ ।”

यही परिवारका काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गरे । परिवारकै विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत छन । नातामा भाइ पर्ने शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाशप्राप्त भइसके ।

सिंह परिवारको इतिहास केवल जागिरमा सीमित छैन । यो परिवारले देशका लागि रगत र प्राणको आहुति पनि दिएको छ । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका थिए । परिवारका लागि त्यो पीडादायी क्षण भए पनि उनको बलिदानले राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई अझ दृढ बनाएको परिवारजन बताउँछन् ।

अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने सुरेन्द्र सिंहको विश्वास छ । “बर्दी फुकाले पनि देशप्रेम त बाँकी नै हुन्छ नि”, उनी भन्छन, “हिजो सुरक्षाकर्मीका रूपमा र अब सामाजिक कार्यमार्फत देश र समाजको सेवामा निरन्तर लागिरहनेछु ।”

नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाहले जमुनाहको सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको उदाहरण बनेको बताए । एउटै आँगनबाट देशको सुरक्षा र शान्तिका लागि समर्पित यति धेरै सदस्य जन्मिनु आफैँमा गौरवको विषय भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ७ : ४० बजे

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकल कलेजमाथि सरकारले थाल्यो कारबाही प्रक्रिया

काठमाडौँ । स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल

आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा दिगो आर्थिक स्रोतको व्यवस्थापन हुन

नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको नियुक्ति फिर्ता लिन जसपा नेपालको माग

नेपालगन्ज । जसपा नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई

विद्युत् महसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई