काठमाडौं । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।
अमेरिकाको टेक्ससस्थित ६९ हजार २ सय ८५ दर्शक क्षमताको वातानुकूलित रंगशालामा आइतबार सम्पन्न खेलमा जापानले दुई पटक पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै महत्त्वपूर्ण एक अंक हात पारेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक रह्यो । खेलको ५१ औँ मिनेटमा कप्तान भर्जिल भान डाइकले रायन ग्रेभेनबर्चको पासमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।
तर डच टोलीको अग्रता लामो समय टिक्न सकेन । खेलको ५७ औँ मिनेटमा जापानका केइतो नाकामुराले डिफेन्डरलाई छलाउँदै गरेको शानदार प्रहार गोलमा परिणत भएपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।
त्यसपछि ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी बक्सको कुनाबाट आकर्षक गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २-१ को अग्रता दिलाए ।
नेदरल्यान्ड्स जित नजिक पुगेको अवस्थामा खेलको ८८ औँ मिनेटमा डैची कमदाले कर्नरबाट आएको बललाई सदुपयोग गर्दै गोल गरेपछि जापानले हार टार्दै खेल २-२ को बराबरीमा समाप्त गर्यो ।
तीन पटक विश्वकपको उपविजेता बनिसकेको नेदरल्यान्ड्सका लागि यो नतिजा निराशाजनक रहँदा जापानले भने संघर्षपूर्ण प्रदर्शनमार्फत महत्त्वपूर्ण अंक बटुल्न सफल भएको छ । जापान अहिलेसम्म विश्वकपको अन्तिम १६ भन्दा माथि पुग्न सकेको छैन ।
समूह ‘एफ’ अन्तर्गत अब अर्को खेलमा स्विडेन र ट्युनिसिया आमनेसामने हुनेछन् ।



















प्रतिक्रिया