काठमाडौं । स्टार फरवार्ड किलियन एम्बाप्पेको दुई गोलको प्रेरणामा फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रंगशालामा सम्पन्न अन्तिम ३२ को खेलमा फ्रान्सले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै स्विडेनमाथि सहज जित दर्ता गरेको हो । अब फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रान्सका लागि खेलको ४५ औँ मिनेटमा किलियन एम्बाप्पेले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३ औँ मिनेटमा ब्राडली बारकोलाले अर्को गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
खेलको ७४ औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको प्रभावशाली जित सुनिश्चित गरे । त्यसपछि स्विडेनले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको सशक्त रक्षापंक्तिलाई भेद्न सकेन ।
यससँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ भने स्विडेनको विश्वकप यात्रा यही चरणमा टुंगिएको छ ।



















प्रतिक्रिया