काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको उत्कृष्ट प्रदर्शनको मद्दतमा फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । यस जितसँगै फ्रान्सले अब अन्तिम १६ मा दक्षिण अमेरिकी टोली पाराग्वेसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
न्यूयोर्क-न्युजर्सी स्टेडियममा मंगलबार राति भएको अन्तिम ३२ को खेलमा फ्रान्सले सुरुदेखि नै स्विडेनमाथि दबाब कायम राखेको थियो । करिब ८० हजार ६ सय ६३ दर्शकको उपस्थितिमा सम्पन्न खेलको पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसअघि एम्बाप्पे र ओलिसेका प्रहार पोस्टमा लागेर फर्किएका थिए ।
दोस्रो हाफमा पनि फ्रान्सले आक्रामक खेललाई निरन्तरता दियो । खेलको ५३ औँ मिनेटमा ओलिसेको पासमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । त्यसपछि ७४ औँ मिनेटमा फेरि ओलिसेकै उत्कृष्ट पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३-० को सहज जित सुनिश्चित गर्यो ।
यो दुई गोलसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याउँदै गोल्डेन बुटको दौडमा लियोनेल मेसीसँग बराबरी गरेका छन् । साथै, विश्वकप इतिहासमा उनको कुल गोल संख्या १८ पुगेको छ, जुन मेसीको १९ गोलको कीर्तिमानभन्दा केवल एक गोल कम हो ।
पहिलो गोल गरेपछि एम्बाप्पेले मैदानको कुनामा पुगेर प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई अँगालो हालेका थिए । डेसच्याम्प्स आफ्नी आमाको अन्त्येष्टिका कारण समूह चरणको अन्तिम खेलमा अनुपस्थित थिए । १४ वर्षदेखि फ्रान्सको नेतृत्व गर्दै आएका उनले यही विश्वकपपछि प्रशिक्षक पद छाड्ने घोषणा गरिसकेका छन् । खेलाडीका रूपमा सन् १९९८ र प्रशिक्षकका रूपमा सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाएका डेसच्याम्प्सका लागि यो प्रतियोगिता विशेष बन्ने अपेक्षा गरिएको छ ।
अब फ्रान्सले आगामी शनिबार फिलाडेल्फियामा पाराग्वेसँग अन्तिम १६ को खेल खेल्नेछ । सन् १९९८ को विश्वकपमा पनि फ्रान्सले यही चरणमा पाराग्वेलाई अतिरिक्त समयमा ‘गोल्डेन गोल’ गर्दै १–० ले पराजित गरेको थियो ।
यता, भिक्टर ग्योकेरेस, अलेक्जेन्डर इसाक र एन्थोनी एलाङ्गा जस्ता स्टार खेलाडी सम्मिलित स्विडेनले फ्रान्सको सुदृढ रक्षापंक्तिविरुद्ध प्रभावकारी अवसर सिर्जना गर्न सकेन । प्लेअफमार्फत विश्वकपमा स्थान बनाएको ग्राहम पोटरको टोलीका लागि अन्तिम ३२ सम्मको यात्रा नै उल्लेखनीय उपलब्धिका रूपमा सीमित भएको छ ।



















प्रतिक्रिया