काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । निर्णायक गोलको मद्दतमा जित हात पार्दै कोलम्बियाले विश्वकपको नकआउट चरणमा आफ्नो यात्रा अघि बढाएको हो ।
खेलको सुरुआतमै कोलम्बियाले अग्रता बनाएको थियो। पहिलो हाफको १४ औँ मिनेटमा जोन एरियासले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा सोही गोल नै खेलको निर्णायक बन्यो ।
घानाले बराबरी गोलका लागि दोस्रो हाफभरि दबाब सिर्जना गरे पनि कोलम्बियाको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगाउन सफल भयो । अन्तिम समयसम्म संयमित खेल प्रस्तुत गरेको कोलम्बियाले महत्वपूर्ण जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्यो ।
योसँगै कोलम्बिया विश्वकप इतिहासमा चौथोपटक अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । अब क्वाटरफाइनल प्रवेशका लागि उसले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
कोलम्बिया र घानाबीचको खेलसँगै विश्वकपको राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भएका छन् । अब अन्तिम १६ मा क्यानाडा-मोरक्को, पाराग्वे-फ्रान्स, ब्राजिल-नर्वे, मेक्सिको-इङ्ल्यान्ड, अर्जेन्टिना-इजिप्ट, कोलम्बिया-स्विट्जरल्यान्ड, पोर्चुगल-स्पेन तथा अमेरिका-बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।
यी आठ खेलबाट विजयी हुने टोलीहरूले विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।



















प्रतिक्रिया