काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा ‘भाइरल’ हुनेभन्दा संसद्प्रति उत्तरदायी र गम्भीर बन्न आग्रह गरेका छन्।
प्रतिनिधिसभामा सरकारको पहिलो १०० दिनको समीक्षा गर्दै उनले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसद्को गरिमा र संसदीय लोकतन्त्रको मर्मलाई सम्मान गर्न आग्रह गरे।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री संसद्को विश्वासबाट बनेको सरकारको नेतृत्व गरिरहेकाले संसद्प्रति जवाफदेही हुनु संवैधानिक तथा राजनीतिक दायित्व भएको बताए।
उनले भने, ‘संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो। यही संसद्को विश्वासमा सरकार टिकेको छ। त्यसैले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्छ। बितेका १०० दिनको कार्यशैली हेर्दा प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन चाहन्छु— धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन।’
आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जवाफ दिनुभन्दा सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्नुलाई बढी प्रभावकारी ठानेको आरोप लगाए।
उनले प्रश्न गरे, ‘प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छरु’
लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु फरक विषय भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको लोकप्रियताभन्दा जिम्मेवार शासन सञ्चालनमा केन्द्रित हुन आग्रह गरे।
प्रधानमन्त्रीलाई लक्षित गर्दै आङ्देम्बेले सामाजिक सञ्जालमा चर्चित बन्न सजिलो भए पनि देशको नेतृत्व गर्नु अत्यन्त गम्भीर जिम्मेवारी भएको बताए।
उनले भने, ‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, अब भाइरल हुने बाटो त्याग्नुस्। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभएको छ।’
प्रधानमन्त्रीले सही दिशामा नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै उनले थपे, ‘सही ढंगले एक्सप्रेस वेमा ड्राइभ गर्नुस्। दुर्घटनामा पर्दा तपाईं मात्र होइन, सिंगो देश दुर्घटनामा पर्न सक्छ।’
सम्बोधनका क्रममा आङ्देम्बेले प्रधानमन्त्री बालेन शाह बैठकमा अनुपस्थित रहेको उल्लेख गर्दै लोकतान्त्रिक मुलुकहरूमा विपक्षी दलको नेता संसद्मा बोल्दा प्रधानमन्त्री स्वयं उपस्थित रहने संसदीय परम्परा रहेको स्मरण गराए।
उनले भने, ‘संसारका लोकतान्त्रिक शासन भएका देशहरूमा विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री अगाडिको बेन्चमा बसेर ध्यानपूर्वक सुन्ने अभ्यास छ। विपक्षीका टिप्पणी सरकारका लागि मार्गनिर्देशन पनि हुन्छन्।’
प्रधानमन्त्री बैठकमा उपस्थित नहुने अनुमान आफूलाई पहिले नै रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर प्रतिपक्षका प्रश्न र सुझाव सुन्ने संस्कार विकास गर्न आग्रह गरे।
आङ्देम्बेले संसद्को भूमिका कमजोर पार्ने प्रवृत्तिले संसदीय लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिँदै प्रधानमन्त्रीले सामाजिक सञ्जालभन्दा संसद्लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।



















प्रतिक्रिया