काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा बिहीबार पनि विरोध जनाएका छन्।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू सामूहिक रूपमा उभिएर विरोध प्रदर्शन गरेका हुन्।
बैठकको सुरुमै सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै विषयमा विपक्षी सांसदहरूले ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै संसद्को मर्यादा र समयलाई ध्यानमा राख्न आग्रह गरेका थिए। उनले विपक्षी बेन्चका तर्फबाट एक जना सांसदले धारणा राखेपछि बैठकको नियमित कार्यसूची अघि बढाउने प्रस्ताव गरेका थिए।
तर, नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले विपक्षी दलको तर्फबाट धारणा राख्दै प्रधानमन्त्रीले संसद्मै दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्। उनले संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले संसद्कै रोस्ट्रममा उपस्थित भएर दिनुपर्ने बताइन्।
विपक्षी दलहरूले गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका छन्। त्यस अवसरमा प्रधानमन्त्रीले ‘भारतले नेपालको मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए।
सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार संसद्मा विरोध गर्दै आएका छन्। उनीहरूको माग अनुसार प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्ने तथ्य र प्रमाण प्रस्तुत गर्नुपर्ने, अन्यथा संसद्सँग माफी माग्नुपर्ने उनीहरूको अडान छ।



















प्रतिक्रिया