काठमाडौं । स्पेनले फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
अमेरिकाको डलासमा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्समाथि दबाब कायम राख्यो । बल नियन्त्रण, पासिङ र आक्रमणमा प्रभावशाली देखिएको स्पेनले सहज जित निकाल्दै उपाधिनजिक पुगेको हो ।
स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गरे । त्यसपछि ५८ औँ मिनेटमा डानी ओल्मोसँगको उत्कृष्ट ‘वान-टु’ पासपछि पेड्रो पोरोले आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
स्पेनको जितमा डानी ओल्मो प्रमुख खेलाडीका रूपमा उभिए । उनले खेलभर ३० मध्ये २९ पास सफल बनाउँदै ९६.७ प्रतिशत पास सफलताको दर कायम गरे । साथै दुई गोल अवसर सिर्जना गर्नुका साथै एक गोलका लागि निर्णायक पास पनि उपलब्ध गराए ।
यो जितसँगै सन् २०१० को विश्वविजेता तथा वर्तमान युरोपियन च्याम्पियन स्पेन दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ ।
स्पेनले अब आइतबार हुने फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
यता फ्रान्सको विश्वकप यात्रा भने सेमिफाइनलमै टुंगिएको छ । प्रशिक्षक डिडिएर डेसाँको नेतृत्वमा तेस्रो विश्वकप उपाधि जित्ने लक्ष्य बोकेको फ्रान्स उपाधि होडबाट बाहिरिएको हो ।
फ्रान्सले अब शनिबार हुने तेस्रो स्थानका लागि निर्धारित खेल खेल्नेछ ।



















प्रतिक्रिया