१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग



काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले सामाजिक सद्भावमा चुनौती थपिएको निष्कर्ष निकाल्दै प्रमुख राजनीतिक दलहरूले शान्ति, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता अपनाउन संयुक्त अपिल गरेका छन्।

उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सात बुँदे संयुक्त वक्तव्य जारी गर्दै आवेग, उत्तेजना र मुठभेडले समस्याको समाधान नगर्ने उल्लेख गरेको छ। लोकतान्त्रिक व्यवस्थामा जस्तोसुकै असन्तुष्टि र विवादको समाधान संवाद, सहमति र शान्तिपूर्ण प्रक्रियाबाट मात्रै सम्भव हुने भएकाले सबै पक्षलाई संयमित हुन बैठकले आग्रह गरेको छ।

बैठकले पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

राजनीतिक दलहरूले नेपालको विविधताबीचको एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कुनै पनि हालतमा खल्बलिन नदिन सम्पूर्ण नागरिकसँग अपिल गरेका छन्। समाजमा द्वन्द्व र विभाजन सिर्जना गर्ने गतिविधिबाट टाढा रहन तथा धैर्य र जिम्मेवारीका साथ व्यवहार गर्न पनि वक्तव्यमा आग्रह गरिएको छ।

संयुक्त वक्तव्यमा केन्द्रको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न सम्बन्धित पार्टी संरचनालाई निर्देशन दिइएको छ। स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनबीच समन्वय गरी विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको छ।

यस्तै, यस्ता संवेदनशील घटनामा सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने भन्दै नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गरिएको छ। सञ्चारमाध्यमलाई पनि तथ्यमा आधारित, संयमित र जिम्मेवार समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

सर्वदलीय बैठकले नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकारले अधिकतम संयमता अपनाई परिस्थिति सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन गम्भीर ध्यानाकर्षण गराएको छ।

बैठकमा सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको रक्षाका लागि आफूहरू एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजसँग आवश्यक सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको जनाएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १२ : १० बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा