काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न क्षेत्रमा हालै भएका हिंसात्मक घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशमा उत्पन्न गम्भीर परिस्थितिका कारण, भएका झडप तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी यथार्थ सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो।
बैठकले पछिल्लो समय सामाजिक सद्भाव कायम राख्न विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सामाजिक क्षेत्रबाट भएका पहलको स्वागत गर्दै यस्ता प्रयासलाई निरन्तरता दिन सबै पक्षलाई आग्रह गरेको छ।
नेकपाले सामाजिक, धार्मिक तथा सांस्कृतिक विविधतालाई राष्ट्रिय एकताको आधारका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। साथै वर्तमान संवेदनशील परिस्थितिमा सरकारले आवश्यक राजनीतिक संवेदनशीलता देखाउन नसकेको उल्लेख गर्दै संवाद, विश्वास निर्माण र समस्याको राजनीतिक समाधानतर्फ अग्रसर हुन सरकारलाई आग्रह गरेको छ।
पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय तथा संविधानले सुनिश्चित गरेका उपलब्धिलाई कमजोर बनाउने र सामाजिक द्वन्द्व भड्काउने गतिविधिप्रति सजग रहन आमनागरिकलाई आह्वान गरेको छ। यस्ता विभाजनकारी प्रयासलाई असफल बनाउन लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा पनि बैठकले जोड दिएको छ।
बैठकले पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल, संघसंस्था र सरोकारवालासँग संवाद, बैठक तथा सद्भाव र्याली सञ्चालन गरी सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
त्यसैगरी, तराई-मधेशमा विकसित परिस्थितिलाई राष्ट्रिय हितअनुकूल ढंगले समाधान गर्नुपर्ने उल्लेख गर्दै सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा आमजनतालाई संयम, आपसी विश्वास, निरन्तर संवाद र जिम्मेवारीपूर्ण व्यवहारका साथ अघि बढ्न अपिल गरिएको छ।
नेकपाले वर्तमान अवस्थामा राजनीतिक तिक्तता बढाउनेभन्दा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिँदै शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने निष्कर्ष पनि निकालेको छ।

















प्रतिक्रिया