नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको छ ।
क्लबका संस्थापक तथा अध्यक्ष प्रवेज अलि सिद्दिकीको सभापतित्वमा सम्पन्न भएको साधारणसभाको समाजसेवी कृष्णजंग शाहले उदघाटन गरे । उदघाटन मन्तव्य दिंदै शाहले कुनै पनि संस्था ३७ वर्षसम्म जिवन्त भएर समाजमा प्रतिष्ठाका साथ सञ्चालन हुनु भनेको अतिनै गौरवपुर्ण बिषय भएको बताए । उनले यो संस्था यहाँसम्म ल्याउन संस्थापक र हालका अध्यक्ष सिद्दिकीको मुख्य भुमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी र बास नेपालका अध्यक्ष शिव कुमार वर्माले पनि ३७ वर्षसम्म निरन्तर समाज सेवा गरेर स्थापित भएको क्लबले अन्य संघसंस्थाका लागि एक उदाहरण प्रस्तुत गरेको बताए ।
कार्यक्रममा वर्षका उत्कृष्ट कर्मचारीका रुपमा राधेकृष्ण थारु, सन्जिता रिजाल र दृष्टि शाहलाई पुरस्कृत गरिएको थियो भने व्यवस्थापनतर्फ कार्यकारी निर्देशक रवि तुलाधर र लेखा तथा बित्त प्रमुख बेद प्रकाश पंगेनीलाई उत्कृष्ट घोषित गरि पुरस्कृत गरिएको थियो । टिम लिडरतर्फ गोविन्द लामिछानेलाई उत्कृष्ठ घोषित गरिएको थियो ।
क्लबका महासचिव बुधेश जयसवालले संस्थाको बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव फिरदौस जहाँले स्वागत मन्तव्य राखेका थिए ।
सो अवसरमा हालै सम्पन्न भएका परियोजनाका कर्मचारी, भेन्डर, सहयोगी तथा शुभेच्छुक र सल्लाहकारहरुलाई प्रमाणपत्र तथा उपहार प्रदान गरिएको थियो ।
उदघाटन समारोहलगत्तै सम्पन्न भएको संस्थाको बन्द सत्रले बार्षिक कार्यक्रम र योजनासहितका बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सिद्दिकीले जानकारी दिए ।
कार्यक्रममा बर्दिया गेरुवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बस बहादुर राना, मधुवन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल, सोही पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्द्रा चुनारा, सोही पालिकाका पशु विकास शाखा प्रमुख गणेश बहादुर बोहोरा, बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश पौडेल लगायतले बाँके युनेस्को क्लबले पालिकाहरुमा स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा पारदर्शी तरिकाले काम गरिरहेको धारणा राखेका थिए ।

















प्रतिक्रिया