काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि असार २ गते दरखास्त आह्वान गरेको थियो। छनोट प्रक्रियाअन्तर्गत गठित सिफारिस समितिले आवेदकहरूको मूल्यांकनपछि साउन १७ गते सर्वाधिक अंक प्राप्त गर्ने तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
अन्तिम प्रतिस्पर्धामा धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव परेका थिए। तीमध्ये साहलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त कार्यकारी निर्देशक साह नेपाल आयल निगमका पूर्व निमित्त कार्यकारी निर्देशकसमेत हुन्। चार्टर्ड एकाउन्टेन्ट (सीए) पृष्ठभूमिका उनी निगमभित्र लामो समयदेखि विभिन्न जिम्मेवारीमा कार्यरत रहँदै आएका छन्। निगमको आन्तरिक संरचना, व्यवस्थापन तथा इन्धन आपूर्ति प्रणालीबारेको अनुभवका आधारमा उनलाई उक्त जिम्मेवारी दिइएको बताइएको छ।
खुला प्रतिस्पर्धामार्फत सम्पन्न भएको छनोट प्रक्रियापछि मन्त्रिपरिषद्को निर्णयसँगै साहले अब नेपाल आयल निगमको नेतृत्व सम्हाल्ने भएका छन्।

















प्रतिक्रिया