काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनी प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायतका स्थानमा पछिल्लो समय अत्यधिक वर्षा भइरहेको छ । स्याङ्जा र नवलपुरलगायतका क्षेत्रमा पनि अत्यधिक वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान तथा मधेस प्रदेश र कोशी तथा बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।
आज राति हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।


















प्रतिक्रिया