२ भदौ २०८३, मंगलबार | August 18, 2026

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना नदेखिएपछि बानियाँले सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

बानियाँले आजै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उनले विश्वासको मतको प्रक्रियामा जानुअघि नै राजीनामा दिएका हुन्।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको मात्र समर्थन रहेको थियो। बहुमतका लागि थप १५ सांसदको समर्थन आवश्यक थियो।

यसअघि सोमबार नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने निर्णय गरेको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार राप्रपाले विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको हो। बागमती प्रदेशसभामा राप्रपाका १३ सांसद छन्।

गत साउन ६ गते तत्कालीन सत्ता साझेदार नेकपा एमालेले सरकारबाट आफ्ना ६ मन्त्री फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए।

संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। सोहीअनुसार बानियाँले भदौ १ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए।

बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भए पनि सरकार टिकाउन आवश्यक बहुमत जुटाउन नसकेपछि उनले कार्यकाल छोट्याउँदै राजीनामा दिएका हुन्।

 

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ३ : १० बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन