हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको राजीनामा स्वीकृत गर्दै बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम मुख्यमन्त्री बानियाँले भदौ १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरिएको छ।
राजीनामा स्वीकृत भएसँगै संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ।
दाबी पेस गर्ने समयसीमा भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यससँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
यसअघि सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने कार्यसूची थियो। तर, आवश्यक बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले विश्वासको मतका लागि मतदान प्रक्रियामा नगई बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यसलगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए।
बानियाँको नेतृत्वमा कांग्रेस र नेकपा एमालेको साझेदारीमा सरकार गठन भएको थियो। उनी २०८२ साउन २० गते संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।
तर, एमालेले गत साउन ६ गते सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो।


















प्रतिक्रिया