काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गरेका छन् ।
सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गरे ।
अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताए ।
सदस्य नम्रता शर्माले काउन्सिलको सदस्यका रूपमा आउन पाउँदा खुशीको अनुभूति भइरहेको बताउँदै प्रेस स्वतन्त्रता जोगाउन र काउन्सिलको गरिमा उच्च पार्न आफूले जानेको अनुभव र दक्षताको भरपुर प्रयोग गर्ने बताइन् ।
अर्का सदस्य प्रकाशभक्त माथेमाले काउन्सिलको इतिहासमै फोटो पत्रकारिताको बिटबाट सदस्यको रूपमा पहिलोचोटी प्रवेश गर्न पाउँदा खुशी लागेको बताउँदै फोटो पत्रकारिताको क्षेत्रमा विगत २५ वर्षको अनुभवलाई काउन्सिलको भलाइको निम्ति खर्चिने प्रतिबद्धता व्यक्त गरे ।
सदस्य रविराज बरालले काउन्सिलमा हिजोका दिनमा रिपोर्टिङका लागि आउने गरेपनि अहिले सदस्यको भूमिकामा आउन पाउँदा खुशी लागेको बताउँदै सबै मिलेर अध्यक्षको टिमलाई सफल बनाउनुर्ने बताए ।
सदस्य उपासना घिमिरेले पत्रकारिता क्षेत्रको विषम परिस्थितिमा पनि काउन्सिलको सदस्यको रूपमा आउन पाउँदा खुशी लागेको बताउँदै सबैको सामुहिक प्रयासबाट कार्य गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत सविता ढकाल, उपप्रशासकीय अधिकृत गिता पराजुली, शाखा अधिकृतहरूसहित उपस्थित कर्मचारीहरूले बधाई एवं शुभकामना दिएका थिए ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

















प्रतिक्रिया