१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का: महाभियोगको बाटो खुल्यो, पदबाट हटाउन कठिन



वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचन हुने यस वर्षको सुरुवातमै रिपब्लिकन पार्टीका नेताहरूलाई निर्वाचनमा पराजित भए आफूविरुद्ध महाभियोगको प्रक्रिया अघि बढ्न सक्ने चेतावनी दिएका थिए।

जनवरी ६ मा प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, “तपाईंहरूले मध्यावधि निर्वाचन जित्नैपर्छ। यदि हामीले निर्वाचन जितेनौँ भने उनीहरूले मलाई महाभियोग लगाएर पदबाट हटाउने कुनै न कुनै बहाना खोज्नेछन्।”

अहिले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टी पराजित भएको छ। डेमोक्रेटिक पार्टीले अमेरिकी संसद् (कंग्रेस)का दुवै सदनमा नियन्त्रण हासिल गरेको छ। परम्परागत रूपमा रिपब्लिकनको बलियो प्रभाव रहेका टेक्सस, साउथ क्यारोलाइना र कन्सासजस्ता राज्यमा समेत डेमोक्रेट्सले सिनेटका सिट जितेका छन्।

यसअघि पनि डेमोक्रेटिक पार्टीको नियन्त्रणमा रहेको कंग्रेसले ट्रम्पविरुद्ध दुईपटक महाभियोग प्रक्रिया अघि बढाएको थियो। तर दुवैपटक सिनेटबाट आरोप पुष्टि हुन नसकेपछि ट्रम्प राष्ट्रपति पदमै कायम रहेका थिए।

निर्वाचनअघि सिनेटमा रिपब्लिकन पार्टीका ५३ सदस्य थिए भने डेमोक्रेट्सका पक्षमा ४७ सिनेटर थिए।

प्रतिनिधिसभाका कुल ४३५ सिटमध्ये ३६७ सिटको नतिजा सार्वजनिक भइसकेको छ। जसमध्ये डेमोक्रेट्सले २१८ सिट जित्दै सदनमा आफ्नो बहुमत सुनिश्चित गरेका छन्। निर्वाचनअघि रिपब्लिकन पार्टीसँग २१८–२१४ को झिनो बहुमत थियो।

प्रतिनिधिसभामा बहुमत हासिल गरेसँगै डेमोक्रेट्सलाई राष्ट्रपति ट्रम्पसहित उनको प्रशासनका उच्च अधिकारीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने अधिकार प्राप्त भएको छ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा प्रतिनिधिसभाका डेमोक्रेटिक सांसदहरूले अघि सारेका दुईवटा महाभियोग प्रस्तावको सामना गरेका थिए। तर दुवैपटक सिनेटले उनलाई आरोपबाट मुक्त गरेको थियो।

यद्यपि, प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव पारित हुँदैमा राष्ट्रपतिलाई पदबाट हटाउन सकिँदैन। त्यसका लागि सिनेटमा हुने सुनुवाइमा दुईतिहाइ सदस्यले दोषी ठहर गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैले सिनेटमा सामान्य बहुमत हासिल गरेर मात्रै डेमोक्रेट्सले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन सक्ने छैनन्।

हालसम्म डेमोक्रेटिक पार्टीका नेताहरूले ट्रम्पविरुद्ध तेस्रोपटक महाभियोग प्रस्ताव ल्याउने योजना बनाएको स्पष्ट संकेत दिएका छैनन्।

कंग्रेसका दुवै सदनमा बहुमत प्राप्त गरेपछि डेमोक्रेट्सले ट्रम्प प्रशासनका विधायिकी योजनामाथि प्रभावकारी नियन्त्रण र कार्यपालिकाको कामकारबाहीमाथि निगरानी गर्ने पर्याप्त अधिकार पाउनेछन्।

यसले ट्रम्प प्रशासनलाई कार्यकालका बाँकी दुई वर्षमा नयाँ कानुन तथा नीति अघि बढाउन कठिन बनाउन सक्छ। यद्यपि, ट्रम्पले डेमोक्रेट्सले कंग्रेसको नियन्त्रण लिएमा आफूले प्रत्येक विधेयकमा भिटो प्रयोग गर्ने चेतावनी दिइसकेका छन्।

मध्यावधि निर्वाचनको नतिजाले ट्रम्पविरुद्ध महाभियोगको बाटो खोल्यो

के मध्यावधि निर्वाचनको नतिजाले राष्ट्रपति ट्रम्पविरुद्ध अर्को महाभियोगको सम्भावना बढाएको छरु यससँग सम्बन्धित केही महत्त्वपूर्ण संवैधानिक र राजनीतिक पक्ष छन्।

सबैभन्दा पहिले, राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न प्रतिनिधिसभामा आवश्यक पर्ने बहुमतभन्दा निकै ठूलो बहुमत सिनेटमा आवश्यक पर्छ।

महाभियोगलाई सामान्यतया अभियोगपत्रसँग तुलना गर्न सकिन्छ। यस प्रक्रियामार्फत कुनै संघीय पदाधिकारीमाथि गम्भीर अपराध वा दुराचार गरेको आरोप औपचारिक रूपमा लगाइन्छ।

महाभियोग प्रस्ताव अर्थात् आरोपपत्र सिनेटमा सुनुवाइ सुरु हुनुअघि प्रतिनिधिसभाबाट साधारण बहुमतले पारित हुनुपर्छ।

राष्ट्रपतिविरुद्ध महाभियोगको सुनुवाइ हुँदा अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीशले त्यसको अध्यक्षता गर्छन्।

यदि सिनेटका दुईतिहाइ सदस्यले राष्ट्रपतिलाई दोषी ठहर गर्ने पक्षमा मतदान गरेमा मात्रै उनलाई पदबाट हटाउन सकिन्छ। केही अवस्थामा दोषी ठहर भएका व्यक्तिलाई भविष्यमा सरकारी पद धारण गर्नसमेत अयोग्य घोषित गर्न सकिन्छ।

के डेमोक्रेट्ससँग महाभियोग प्रस्ताव पारित गर्न पर्याप्त मत छ ?

प्रतिनिधिसभाको हकमा यसको जवाफ हो – छ। नोभेम्बर ४ को दिउँसोसम्म डेमोक्रेट्सले २३७ सिट जितिसकेका थिए। प्रतिनिधिसभामा साधारण बहुमतका लागि २१८ सिट आवश्यक हुन्छ।

यसको अर्थ सबै डेमोक्रेटिक सांसदले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेमा प्रस्ताव पारित हुन सक्छ।

तर यो महाभियोग प्रक्रियाको पहिलो चरण मात्रै हो। राष्ट्रपतिलाई दोषी ठहर गरी पदबाट हटाउन सिनेटमा आवश्यक मत जुटाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ।

सिनेटमा महाभियोगको सुनुवाइपछि कुनै व्यक्तिलाई दोषी ठहर गर्न दुईतिहाइ सदस्यको समर्थन आवश्यक हुन्छ।

सबै सिटको नतिजा सार्वजनिक भइसकेको छैन। तर बाँकी रहेका सबै सिटमा डेमोक्रेट्सले जितेको अवस्थामा पनि राष्ट्रपतिलाई दोषी ठहर गर्न आवश्यक ६७ मत उनीहरूसँग पुग्ने देखिँदैन। यो आकलन सबै सिनेटरले आ–आफ्नो पार्टीको पक्षमा मतदान गर्ने आधारमा गरिएको हो।

के डेमोक्रेट्सले ट्रम्पविरुद्ध महाभियोग अघि बढाउनेछन्रु

प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीका नेता हाकिम जेफ्रिजले आफ्नो पार्टीको प्राथमिकता महँगी नियन्त्रण र सर्वसाधारणको जीवनयापनको लागत घटाउने विषय हुने बताएका छन्।

न्युयोर्कका सांसद जेफ्रिज जनवरीमा नयाँ कंग्रेसले कार्यभार सम्हालेपछि प्रतिनिधिसभाको सभामुख बन्न सक्ने सम्भावना छ।

नोभेम्बर ४ मा उनले भनेका थिए, “प्रतिनिधिसभाको डेमोक्रेटिक ककसका कुनै पनि सदस्यले मसँग महाभियोगका विषयमा कुरा गरेका छैनन्।” उनका अनुसार पार्टीको ध्यान सर्वसाधारणको जीवनयापन सहज बनाउने र सरकारलाई जवाफदेही बनाउने विषयमा केन्द्रित हुनेछ। उनले भने, “प्रतिनिधिसभाका डेमोक्रेट्सले नियन्त्रणबाहिर गएको कार्यपालिकामाथि निगरानी गर्ने र शक्ति सन्तुलन सुनिश्चित गर्ने कंग्रेसको नेतृत्व गर्नेछन्।”

डेमोक्रेट्सले प्रतिनिधिसभामा पुनः बहुमत हासिल गर्ने निश्चित हुन थालेपछि हाउस ओभरसाइट कमिटीका वरिष्ठ डेमोक्रेटिक सदस्य सांसद रोबर्ट गार्सियाले ट्रम्प प्रशासनमाथि अनुसन्धान अघि बढाउने घोषणा गरेका थिए। उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “आफ्ना वकिलहरू तयार राख्नुहोस्।”

प्रतिनिधिसभामा बहुमत हुनुको अर्थ डेमोक्रेट्ससँग समन जारी गर्ने र संसदीय अवहेलनासम्बन्धी कारबाही अघि बढाउने अधिकार पनि हुनेछ। यसमार्फत उनीहरूले ट्रम्प प्रशासन र उनको परिवारसँग विभिन्न विषयमा जवाफ माग्न सक्नेछन्।

महाभियोगको सम्भावना सामना गर्नुपर्ने व्यक्ति ट्रम्प मात्रै नहुन सक्छन्। मध्यावधि निर्वाचनका लागि कंग्रेस बिदामा जानुअघि रक्षामन्त्री पिट हेगसेथविरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरिएको थियो।

ट्रम्पविरुद्ध अहिलेसम्म कति पटक महाभियोग लागेको छ ?

अमेरिकी इतिहासमा डोनाल्ड ट्रम्प दुईपटक महाभियोगको सामना गर्ने राष्ट्रपति हुन्। तर दुवैपटक सिनेटले उनलाई आरोपबाट मुक्त गरेको थियो।

सन् २०१९ डिसेम्बरमा प्रतिनिधिसभाले ट्रम्पविरुद्ध महाभियोगका दुईवटा आरोप पारित गरेको थियो।

पहिलो आरोप शक्तिको दुरुपयोगसम्बन्धी थियो। ट्रम्पले युक्रेनका अधिकारीहरूलाई आफ्ना राजनीतिक प्रतिस्पर्धीको अनुसन्धान गर्न दबाब दिएको आरोप लगाइएको थियो।

दोस्रो आरोप कंग्रेसको अनुसन्धानमा अवरोध पुर्‍याएको भन्ने थियो। यस प्रकरणमा ट्रम्पले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने र रोक्ने प्रयास गरेको आरोप थियो।

सन् २०२० फेब्रुअरीमा सिनेटले ट्रम्पलाई दुवै आरोपबाट मुक्त गरेको थियो। युटाका रिपब्लिकन सिनेटर मिट रोम्नी आफ्नै पार्टीको निर्णयविरुद्ध उभिएर ट्रम्पलाई दोषी ठहर गर्न मतदान गर्ने एक मात्र रिपब्लिकन सांसद थिए।

त्यसपछि सन् २०२१ जनवरीमा प्रतिनिधिसभाले फेरि ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित गर्‍यो। यसपटक सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको हिंसात्मक घटनाका सम्बन्धमा उनलाई ‘विद्रोहका लागि उक्साएको’ आरोप लगाइएको थियो।

त्यतिबेला १० जना रिपब्लिकन सांसदले आफ्नै पार्टीको धारणा विपरीत डेमोक्रेट्ससँग मिलेर महाभियोग प्रस्तावको पक्षमा मतदान गरेका थिए।

ती १० सांसदमध्ये अहिले केवल दुईजना मात्रै पदमा छन्। तीमध्ये एकजनाले सन् २०२६ मा पुनः निर्वाचन नलड्ने घोषणा गरेका छन्। अन्य सांसदहरू या त कंग्रेसबाट अवकाश लिएका छन् वा निर्वाचनमा पराजित भएका छन्।

ट्रम्पले राष्ट्रपति पद छाडिसकेपछि सिनेटमा दोस्रो महाभियोगको सुनुवाइ भएको थियो। केही रिपब्लिकन सांसदहरूले उनी पदमा नरहेको अवस्थामा सुनुवाइ गर्नु आवश्यक नभएको तर्क गरेका थिए।

सिनेटमा बहुमत सदस्यले ट्रम्पलाई दोषी ठहर गर्ने पक्षमा मतदान गरेका थिए। यस क्रममा सातजना रिपब्लिकन सांसदले आफ्नै पार्टीको निर्णयविरुद्ध डेमोक्रेट्सलाई समर्थन गरेका थिए।

तर ५७–४३ को मतपरिणाम आवश्यक दुईतिहाइ बहुमतभन्दा कम थियो। त्यसैले ट्रम्पलाई दोषी ठहर गर्न पर्याप्त मत पुगेन।

सिनेटले ट्रम्पलाई आरोपबाट मुक्त गरेपछि उनलाई भविष्यमा पुनः सरकारी पद धारण गर्न रोक लगाउने विषयमा मतदान गर्ने अवस्था पनि आएन।

(बीबीसीको समाचार सामग्रीमा आधारित)

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ९ : ३७ बजे

साइबर ब्युरोले बोलाएपछि कांग्रेस सहमहामन्त्री शिवाकोटीको जवाफ : ‘प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का: महाभियोगको बाटो खुल्यो, पदबाट हटाउन कठिन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचन हुने यस

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री बालेन्द्रसँग भेट्दै

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले

एनपीएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई