बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७१० जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सार्वजनिक गरेको साउन महिनाको ट्राफिक गतिविधि तथा प्रगति विवरणअनुसार प्रदेशका विभिन्न जिल्लामा भएका दुर्घटनामा सबैभन्दा बढी दुर्घटना रुपन्देहीमा १४९ वटा भएका छन् । बाँकेमा ८४, कपिलवस्तुमा ७१, पाल्पामा १५, नवलपरासीमा ३५ र दाङमा २४ वटा दुर्घटना भएका छन् ।
दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ । प्रदेशभर तीव्र गतिका कारण मात्रै २८७ वटा दुर्घटना भएको कार्यालयले जनाएको छ । त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ७३, चालकको असावधानी तथा लापरबाहीका कारण ३९ र अन्य लापरबाहीका कारण ६ वटा दुर्घटना भएका छन् ।
ट्राफिक प्रहरीले साउन महिनामा १० हजार ४५७ वटा सवारी तथा ट्राफिक नियम उल्लङ्घनसम्बन्धी कारबाही गरेको छ । कारबाहीबाट १ करोड ३२ लाख ६९ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको विवरणमा उल्लेख छ ।
यस अवधिमा ट्राफिक प्रहरीले १ हजार १७१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रमबाट ६३ हजार ११० जना लाभान्वित भएका छन् ।
कार्यालयका अनुसार साउनमा १ हजार ८५९ वटा ओभरलोडका घटनामा कारबाही गरी यातायात व्यवस्था कार्यालयमा पठाइएको थियो । त्यसबाट १ करोड ८५ लाख ९० हजार रुपैयाँ बराबरको जरिवाना रकम उल्लेख गरिएको छ । यस्तै बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग सञ्चालन तथा सुरक्षाका लागि २६ पटक काम गरिएको थियो ।
ट्राफिक प्रहरीले तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिमा रोक तथा ट्राफिक नियमको पूर्ण पालना गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ । दुर्घटना तथा ट्राफिकसम्बन्धी समस्या परेमा नजिकको ट्राफिक प्रहरी वा टोल फ्री नम्बर १००/१०३ मा खबर गर्न अनुरोध गरिएको छ ।


















प्रतिक्रिया