काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।
संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त संवाद र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको आरोप लगाउँदै देउवा र खड्काले सर्वोच्चमा रिट निवेदन दिएका हुन्।
देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमारले सर्वोच्च अदालतमा रिट दर्ताका लागि निवेदन पुर्याएका हुन्। कांग्रेस इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगेको जानकारी दिएका छन्।
रिटमा कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया तथा कार्यतालिका रोक्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ। साथै, तत्कालका लागि महाधिवेशनका सम्पूर्ण गतिविधि रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त कार्यतालिका एकपक्षीय रूपमा सार्वजनिक गरिएको भन्दै देउवा र नेता डा. शेखर कोइराला समूहले असन्तुष्टि जनाउँदै आएका छन्।
रिटमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने गरी गरेको निर्णयसमेत बदर गर्न माग गरिएको छ।
सर्वोच्च अदालतले यसअघि कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा भएको निर्णय पुनरवलोकनका लागि अनुमति दिइसकेको अवस्थालाई आधार बनाउँदै महाधिवेशनका प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश माग गरिएको हो।
सर्वोच्चबाट मागबमोजिम अन्तरिम आदेश जारी भएमा कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी हाल सञ्चालनमा रहेका सम्पूर्ण गतिविधि प्रभावित हुनेछन्।


















प्रतिक्रिया