बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने भएको छ ।
अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरणका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्नेगरी पुरस्कार कोष स्थापना गरेका छन् । उनले पाँच वर्षका लागि आवश्यक एकमुष्ट १ लाख २५ हजार रुपैयाँ कोषमा जम्मा गर्नेगरी सहयोग गरेका हुन् ।
सापकोटाकै सहयोगमा विसं २०७३ देखि निरन्तर प्रदान हुँदै आएको पुरस्कार कोषबाट प्राप्त ब्याजले पुरस्कार वितरण गर्न कठिन भएपछि केही समय रोकिएको थियो । अब पुरस्कारलाई पुनः निरन्तरता दिन सापकोटा र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पुरस्कार कोषका लागि सापकोटाले पाँच वर्षको रकम १ लाख २५ हजार रुपैयाँ महासङ्घको संयुक्त खातामा जम्मा गर्नेगरी चेक हस्तान्तरण गरेका छन् । महासंघका अनुसार हरेक वर्ष विश्व वातावरण दिवसको अवसरमा वातावरण, जलवायु परिवर्तन तथा पर्यावरणका क्षेत्रमा योगदान पुर्याउने एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ ।
विश्व वातावरण मानवीय जीवनका लागि चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा वातावरण, जलवायु र पर्यावरणका मुद्दालाई पत्रकारितामार्फत सशक्त रूपमा उठाउन प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको संस्थापक सापकोटाले बताए ।
महासंघका सचिव सीपी खनालका अनुसार पुरस्कारका लागि प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशित समाचार, रिपोर्ट तथा फिचरलाई मूल्याङ्कन गर्नेगरी निर्देशिका तयार गरिएको छ ।
महासंघ रुपन्देहीले विसं २०७३ देखि प्रदान गर्दै आएको उक्त पुरस्कार यसअघि शेरबहादुर केसी, छवि पाण्डे, लक्ष्मण पोखरेल, लक्ष्मण पौडेल, टीआर शर्मा, तेजेन्द्र केसी र दिनेश पाण्डेले प्राप्त गरिसकेका छन् ।
विसं २०२९ देखि पत्रकारिता सुरु गरेका सापकोटाले विसं २०३१ देखि २०६० सम्म भैरहवाबाट ‘मुक्ति सन्देश’ दैनिक प्रकाशन गरेका थिए । विसं २०४७ देखि वातावरण बचाउ आन्दोलनको अध्यक्षका रूपमा काम गरेका सापकोटाको अगुवाइमा रुपन्देही एफएमसमेत सञ्चालनमा आएको थियो ।


















प्रतिक्रिया