९ भदौ २०८३, मंगलबार | August 25, 2026

दुखुखोला सडक पुल जोखिममा



म्याग्दी । जिल्लाको बेनी-दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका-२ र मालिका गाउँपालिका-६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ ।

दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि भासिने जोखिम बढेको हो । दुखुबेँसीका बासिन्दासमेत रहेका मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले पुलको मङ्गला गाउँपालिकातर्फको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएको जानकारी दिए ।

“यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ”, उनले भने, “यो पुल भत्किने हो भने मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।” पुलको एकातर्फको पिलरको जगमुनिबाट खोलाले कटान गरेर बाढी बग्न थालेको छ ।

सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला पूर्वाधार कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो ।

पूर्वाधार विकास कार्यालयले दुखुखोला सडक पुल संरक्षणका लागि शनिबारदेखि नै काम सुरु भएको जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँचमार्ग संरक्षणको काम थालिएको बताए । जोखिमयुक्त भएकाले पुलमा यात्रा गर्ने क्रममा सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ७ : २४ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि