काठमाडौं । सङ्घीय संसद् मातहतका पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायत सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल गरिनेछ ।
त्यस्तै, बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारीका विषयमा छलफल हुने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विषय विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

















प्रतिक्रिया