नेपालगन्ज । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने ध्येयका साथ नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण हुने भएको छ ।
नेपालगन्जबाट प्रकाशन हुने दैनिक नेपालगञ्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालि र नाटा बाँके च्याप्टरद्वारा यही भदौ २१ गते सुरु हुने उक्त कार्यक्रमले समाजका अघिल्लो पुस्ता र युवा पुस्ताबीचको सम्बन्धलाई थप आत्मिय र सुदृढ बनाउने विश्वास गरिएको छ ।
आयोजक संस्थाका प्रकाशक तथा सम्पादक झलक गैरेका अनुसार, आगामी आइतबारदेखि सहभागिताका लागि दर्ता खुला गरिनेछ । ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम ज्येष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवर्द्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाइने छ ।
त्यस कार्यक्रममा ५० वर्ष उमेर पूरा भएका हजुरआमाबीच दौड प्रतियोगिता हुनेछ । स्थानीय बिपी चोकदेखि धम्बोझी चोकसम्मको एक हजार एक मिटर दूरी कायम गरिएको छ । प्रतियोगितामा जित–हारभन्दा आफ्नै उमेर र क्षमतामाथि विश्वास गर्दै सक्रिय जीवनको उत्सव मनाउने विषयलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ । दौडअघि आयोजना हुने स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण र परामर्श उपलब्ध हुनेछ । यसअघि भएको पहिलो संस्करणम १५० भन्दा बढी हजुरआमाको सहभागीता रहेको थियो ।
पहिलो संस्करणमा देखिएको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ । यसवर्ष कार्यक्रमलाई दौडमा मात्र सीमित नराखी अन्तरपुस्ता संवादमा रुपान्तरण गरिने जनाइएको छ ।
संवादमा हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी सन्तानबीच संवाद हुनेछ । त्यस अवसरमा हजुरआमाले आफ्ना जीवनका सङ्घर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ सुनाउने कार्यक्रम तय गरिएको छ । नवपुस्ताले आफ्ना अग्रजका अनुभव सुन्न, बुझ्न र ज्ञान महत्त्वपूर्ण अवसर प्राप्त गर्ने छन् ।
सम्पादक झलक गैरेले भने, ‘दौडिन्छिन् हजुरआमा’ केवल दौड होइन, हजुरआमाको सम्मान, स्वस्थ बुढ्यौली प्रवर्द्धन र अन्तरपुस्ताबीच सम्बन्धलाई आत्मिय बनाउने सामाजिक अभियान हो ।”

















प्रतिक्रिया