काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले विपद्को समयमा नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोगलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका हुन् ।
उनले स्थानीय तहदेखि केन्द्रीय तहसम्मका पार्टी सदस्यलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी स्वयंसेवी कार्यमा परिचालन हुन आह्वान गरेका छन् ।
‘विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो– नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग,’ लामिछानेले भनेका छन् ।
बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै उनले जोखिमयुक्त क्षेत्रमा नबस्नसमेत अनुरोध गरेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
लामिछानेले विपद्को संवेदनशील अवस्थामा सामाजिक सञ्जालमार्फत अप्रमाणित सूचना तथा अफवाह नफैलाउनसमेत सचेत गराएका छन् ।
‘एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्छ,’ उनले अपिलमा उल्लेख गरेका छन् ।
उनले विपद्को समयमा पार्टीका नेता तथा कार्यकर्तालाई जिम्मेवार ढंगले परिचालित भई प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

















प्रतिक्रिया