काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ काउन्टीस्थित नेपाल–चीन सीमा क्षेत्रमा बाढीपहिरोको विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्तगर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ समवेदना सन्देश पठाएका छन् ।
राष्ट्रपति पौडेलले शनिबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति सीलाई समवेदना सन्देश पठाउँदै विपद्का कारण चीनमा भएको जनधनको क्षतिप्रति नेपाल गहिरो दुःखी भएको उल्लेख गरेका छन् ।
पौडेलले नेपालमा हालै आएको विपद्का क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनताले व्यक्त गरेको हार्दिक समवेदना तथा ऐक्यबद्धताप्रति पनि आभार व्यक्त गरेका छन् । यही भदौ १० गते नेपाल चीन सीमा क्षेत्रमा गएको हिमपहिरो र त्यसपछि उत्पन्न भयानक प्राकृतिक विपत्तिका कारण दुवै देशतर्फ ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रपति पौडेलले राष्ट्रिय शोकको यस घडीमा चीनले उपलब्ध गराएको तत्कालीन सहयोगले नेपाल र चीनबीचको समयपरीक्षित तथा दीर्घकालीन द्विपक्षीय मित्रताको मजबुतीलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन् ।
उनले नेपाल र चीनबीचको सम्बन्धलाई विपद्का कठिन घडीमा समेत एकअर्काप्रति सहयोग, सद्भाव र ऐक्यबद्धताले थप बलियो बनाउँदै आएको सन्देश दिएका छन् ।
भारतीय राष्ट्रपतिलाई कृतज्ञता व्यक्त
यसैबीच, राष्ट्रपति पौडेलले भारत सरकारकोतर्फबाट प्राप्त सहयोग र संकटको बेलामा ऐक्यवद्धताका लागि भारतकी राष्ट्रपति द्रौपदी मुर्मूप्रति कृतज्ञता व्यक्त गरेका छन् । राष्ट पति मुर्मूले विपद्प्रति व्यक्त गरेको चासो, सहानुभूति तथा भारत सरकारबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट गहिरो कृतज्ञता व्यक्त गरेका हुन् ।
पौडेलले विपद्मा भारतीय नागरिकको ज्यान गएको घटनाप्रति भारत सरकार तथा भारतीय जनताप्रति हार्दिक समवेदना र गहिरो सहानुभूति पनि व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलका यी सन्देशमार्फत नेपालले विपद्को कठिन घडीमा छिमेकी मुलुक चीन र भारतबाट प्राप्त सहयोग तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुका साथै दुवै देशमा भएको मानवीय क्षतिप्रति आफ्नो दुःख र सहानुभूति प्रकट गरेको छ।
















प्रतिक्रिया