काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र भइरहेको उद्धार कार्यमा नेपालमा उपलब्ध प्राविधिक जनशक्तिको क्षमता पर्याप्त नदेखिए आवश्यकताअनुसार विदेशी विशेषज्ञ तथा उद्धार टोलीको सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफललाई सम्बोधन गर्दै थापाले विपद्का बेला छिमेकी तथा अन्य मित्रराष्ट्रबाट सहयोग लिनु स्वाभाविक भएको बताए ।
‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ उनले भने ।
राष्ट्रिय विपत्तिको यस घडीमा सरकारलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले उद्धार, राहत तथा पुनःस्थापनामा देखिएका कमजोरीप्रति खबरदारी गर्नु पनि प्रतिपक्षी दलको जिम्मेवारी भएको स्पष्ट पारे ।
‘कहाँ ग्याप छ, कहाँ काम गर्नुपर्ने तर भइरहेको छैन, त्यसबारे औँल्याउने काम पनि हाम्रो हो । यो गर्नु भनेको विपद्का बेला आलोचना गर्नु होइन, विपद्का बेला सहयोग नै पुर्याउनु हो,’ उनले भने ।
सरकारलाई सहयोगसँगै खबरदारी
बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरी औँल्याउने निर्णय गरेको छ ।
थापाले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने भन्दै संघीय सरकारले स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्ने बताए । स्थानीय तहलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको भनाइ थियो ।
उनले प्रभावित क्षेत्रबाट प्राप्त वास्तविक सूचना सम्बन्धित सरकारी निकायसम्म पुर्याउने र आवश्यक परे सरकारमाथि दबाब सिर्जना गर्ने काम कांग्रेसले निरन्तर गर्ने बताए । नुवाकोट र रसुवाका वडा अध्यक्ष तथा पार्टीका वडा सभापतिसँग प्रत्यक्ष सम्पर्क गरी स्थानीय अवस्थाबारे जानकारी लिने काम भइरहेको पनि उनले जानकारी दिए ।
यसअघि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकलगायतको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिसकेको छ । उक्त टोलीले प्रभावित क्षेत्रमा देखिएका समस्या समेटेर प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको थापाले बताए ।
विपद् समन्वय समिति परिचालन
कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वयका लागि केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् समन्वय समिति’ गठन गरेको छ ।
समितिले प्रभावित क्षेत्रसँग समन्वय गर्दै राहत तथा उद्धारका कामलाई अघि बढाइरहेको छ । बैठकमा समितिका सदस्यसचिव माधव थापाले पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी गराएका थिए ।
त्यस्तै, राष्ट्रिय विपद् व्यवस्थापनका लागि संसद्भित्रै साझा राजनीतिक संयन्त्र निर्माण गर्ने विषयमा सर्वदलीय बैठकबाट भएको समझदारीलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने थापाले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकमा यस्तो समझदारी बनेको र संयन्त्रलाई पूर्णता दिन लामिछानेसँग थप छलफल गरिने उनले जानकारी दिए ।
राहत कोषमा सहयोग गर्न आह्वान
सभापति थापाले कांग्रेसका नेता, कार्यकर्ता, सांसद तथा निर्वाचित जनप्रतिनिधिलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गरेका छन् ।
केन्द्रीय सदस्य, सांसद, निर्वाचित जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका कमिटीले आफ्नो तर्फबाट रकम संकलन गरी एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने उनले बताए ।
पार्टीका कमिटीमा रहेका सदस्यले पार्टीको आन्तरिक कोषमार्फत रकम जम्मा गर्न र अन्य सहयोगीले सिधै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न उनले आग्रह गरे । राहत संकलनमा दोहोरोपन नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।
भड्किला सार्वजनिक कार्यक्रम नगर्न निर्देशन
मुलुक शोकमा रहेको र हजारौँ नागरिक विपद्बाट प्रभावित भएको अवस्थामा कांग्रेसका कुनै पनि तहले सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न थापाले निर्देशन दिएका छन् ।
हरितालिका तीजलगायतका पर्व सामान्य रूपमा मनाउन सकिने भए पनि सार्वजनिक उत्सव र भड्किलो कार्यक्रम नगर्न उनले आग्रह गरे ।
‘अहिलेको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन र वितरणमा केन्द्रित हुनुपर्छ,’ थापाले भने ।
सभापति थापा नेतृत्वको कांग्रेसको विपद् व्यवस्थापन टोली सोमबारदेखि प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा राहत समन्वयका लागि परिचालन हुने भएको छ । फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव दिने तथा आवश्यकताअनुसार दबाब सिर्जना गर्ने कांग्रेसले जनाएको छ ।
















प्रतिक्रिया