म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु ५० हजारको भेडेखुर्सानी (क्याप्सिकम) बिक्री गरिन ।
“दुई प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु ५० हजार कमाई भयो”, उनले भनिन, “भेडे खुर्सानी बेचेर सकिएपछि गोलभेडा र रायोसागखेती गर्ने योजनामा छु ।”
बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदर र बढ्दो लागतका कारण खाद्यबाली खेती गर्न समस्या हुन थालेको अवस्थामा व्यावसायिक तरकारीखेती गरेर घरव्यवहार चलाउन सहज भएको ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारीको अनुभव छ ।
बेनी नगरपालिकाको माथिल्लो भेगमा पर्ने डडुवाका बासिन्दा दशकअघिसम्म खेतबारीमा परम्परागत धान, गहुँ, मकै, कोदोखेती गर्दथे । आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको आयोजनामा कास्की र पर्वतका तरकारीखेती भएका ठाउँमा भएको अवलोकन भ्रमणपछि डडुवाका किसानले खेती गर्ने शैली बँदलेका हुन् ।
अगुवा कृषक मोहनबहादुर भण्डारीले सहकारीको भ्रमण डडुवावासीलाई व्यावसायिक तरकारीखेतीमा अग्रसर बनाउन ‘टर्निङ पोइन्ट’ बनेको बताउँछन । “भ्रमणपछि तत्कालीन कृषि ज्ञान केन्द्रमार्फत तरकारीखेतीका लागि प्लास्टिक टनेल बनाउन कार्यक्रम प¥यो”, उनले भने, “परीक्षणका लागि मैले खेतमा बनाएको दुई वटा टनेलमा गोलभेँडाखेती सफल भएपछि अरुले पनि खेती गर्न थाले । अहिले गाउँभरी करिब ५० वटा टनेलमा गोलभेँडाखेती भएको छ ।” करिब रु ७५ हजारको लागतमा तयार हुने प्लास्टिक टनेलभित्र एक याममा रु एक लाख ५० हजारसम्म आम्दानी लिन सकिने किसानको अनुभव छ । “पहिले तरकारी किनेर खाने डडुवा अहिले तरकारी बेचेर नगद भित्र्याउने भएको छ”, भण्डारीले भने, “२० जनाभन्दा बढी किसानले ब्यवसायिक रुपमा तरकारी खेती गरेका छौ ।”
प्लास्टिक घरमा गोलभेडाको साथै यामअनुसार भेडे खुर्सानी, काँक्रो, सिमी, साग, मुला, गाजर, खुर्सानी, भन्टालगायत तरकारीखेती गर्छन् । रोजगारीको सिलसिलामा करिब एकदशक बहराइनमा बिताएका भण्डारीले हाल नौ वटा टनेलमा गोलभेँडाखेती गरेका छन ।
डडुवामा ६५ घरधुरी भए पनि केही बसाइँसराइ गरेर बेनी तथा पोखरा बस्छन् । गाउँमा भएका सबैजसोले तरकारीखेती गरेका छन् । बेनी र पोखरामा तरकारी बिक्री हुन्छ । पुलाचौर हुँदै डडुवा जोड्ने कच्ची सडकमा तरकारी ढुवानी गराउन समस्या हुने, सिँचाइका लागि पानीको अभाव, प्राविधिक सहयोगको कमी र उत्पादनले उचित मूल्य नपाउने चुनौती रहेको छ ।
बजारमा ग्राहकले रु १२० प्रतिकिलोका दरले खरिद गर्ने गोलभेँडा डडुवाका किसानले आधा मूल्य रु ६० का दरले बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोला डडुवा पछिल्लो समय तरकारीखेतीमा नमुना बन्दै गएको बताए । किसानलाई साना सिँचाइ कार्यक्रममार्फत पोखरी निर्माण, प्लास्टिक घर, यान्त्रिक हलोमा अनुदान सहयोग उनले बताए ।
बेनी नगरपालिका-५ का वडाध्यक्ष गोविन्द बानियाले बेनीदेखि पुलाचौरसम्मको सडक पक्की बनाएको बताउँदै यसपाली पुलाचौरदेखि नयाँगाउँ खण्डमा स्तरोन्नति गर्ने तयारी भएको बताए ।
बेनी नगरपालिकाको मात्र नभएर जिल्लाभरका किसानले उत्पादन गरेको तरकारी, फलफूल र पशुजन्यउपजको बजारीकरणका लागि बेनीमा कृषि बजार सञ्चालनको तयारी गरेको उनले बताए ।
















प्रतिक्रिया