काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा नेतृत्वको सरकारले छापा सञ्चारमाध्यमलाई कमजोर बनाउँदै अन्ततः समाप्त पार्ने दिशामा काम गरिरहेको आरोप लगाएका छन्।
नेपाल पत्रकार महासंघ तथा छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिले आइतबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारलाई व्यंग्यात्मक रूपमा ‘छापा मार सरकार’को संज्ञा दिएका हुन्।
‘मैले हेर्दा अहिलेको सरकार ‘छापा मार’ सरकारजस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन, छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ ओलीले भने।
छापा सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापनमा भएको कटौती, विज्ञापन बजारमा आएको मन्दी तथा सरकारी बेवास्ताका कारण गम्भीर आर्थिक संकट भोगिरहेको विषयमा प्रतिनिधिमण्डलले ओलीको ध्यानाकर्षण गराएको थियो।
सो अवसरमा ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक रहेको उल्लेख गर्दै सञ्चारमाध्यममाथिको प्रहारले समग्र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताए। उनले स्वतन्त्र प्रेसमाथि हुने हस्तक्षेप तथा प्रतिगामी कदम लामो समय टिक्न नसक्ने दाबी गरे।
पत्रकारहरूलाई आफ्नो अधिकार रक्षाका लागि निरन्तर आवाज उठाउन आग्रह गर्दै ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितांशसमेत स्मरण गरे।
‘तपाईंहरूले सम्झौता गर्नुभयो वा पछि हट्नुभयो भने अधिकार पाइँदैन । त्यसैले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस्,’ उनले भने।
आफू र आफ्नो पार्टीले दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको उल्लेख गर्दै ओलीले छापा सञ्चारमाध्यमको संरक्षणका लागि एमालेको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
उनले छापा सञ्चारमाध्यम ऐतिहासिक तथा तथ्यपूर्ण दस्ताबेजका रूपमा रहने भएकाले डिजिटल प्रविधिको तीव्र विकासका बाबजुद यसको महत्त्व नघट्ने बताए।
ओलीले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै वर्तमान सरकारका स्वतन्त्रताविरोधी र संकीर्ण कदम पनि लामो समय टिक्न नसक्ने दाबी गरे।
‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ पनि २०६३ सम्म पुग्दा अन्त्य भयो,’ उनले भने, ‘त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन्।’
















प्रतिक्रिया