१४ आश्विन २०८३, बुधबार | September 30, 2026

सानातिना मतभेद छाडेर एकताबद्ध बन्न नेता कार्यकर्तालाई ओलीको निर्देशन



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँगको भर्चुअल सम्बोधनमा ओलीले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्नेमा जोड दिँदै ओलीले सानातिना विषयलाई लिएर आन्तरिक विवाद बढाउन नहुने बताए ।

‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ,’ ओलीले भने, ‘सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ।’

उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित, सक्रिय र जनतासँग जोडेर अघि बढ्नुपर्ने बताए । विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनको भनाइ थियो ।

वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने ओलीले बताए । उनले निर्वाचनलाई केन्द्रित गरेर संगठन परिचालन गर्न तथा आ–आफ्नो कार्यक्षेत्रमा जनसम्बन्ध विस्तार गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।

एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै ओलीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गरे ।

‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने ।

ओलीले एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताए ।

पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढंगले पुर्‍याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । उनले संगठन निर्माण, जनसम्बन्ध विस्तार र पार्टी अनुशासनमा विशेष ध्यान दिन पनि निर्देशन दिए ।

भर्चुअल बैठकमा एमाले महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए ।

उनका अनुसार पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको छ भने प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्नेछ ।

वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम अघि बढाइने पनि पोखरेलले बताए । लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने उनले जानकारी दिए ।

जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने योजना पनि उनले सुनाए ।

भर्चुअल कार्यक्रममा एमाले उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताको सहभागिता थियो।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : १८ बजे

अझै निकाल्न सकिएन राइनो क्रुज

चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा

सानातिना मतभेद छाडेर एकताबद्ध बन्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज