८ आश्विन २०८३, बिहिबार | September 24, 2026

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत पछिल्लो २४ घण्टामा सम्भावित विपद् न्यूनीकरणका लागि सरकारका सबै मन्त्रालय, सुरक्षा निकाय र मातहतका निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन्।

उनका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। नदी तथा तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराइएको छ।

प्रधानमन्त्री शाहले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्न निर्देशन दिइएको छ।

सम्भावित बाढी, पहिरो र नदी कटानलाई ध्यानमा राख्दै स्काभेटर, लोडर तथा डोजरलगायत उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखिएको उनले बताएका छन्। सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ।

हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न तथा होटल व्यवसायी र स्थानीयलाई सुरक्षित बासस्थानको व्यवस्था गर्न आग्रह गरिएको छ। मौसम प्रतिकूल भएमा आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।

देशभरका ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक गरी पूर्वतयारी गर्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न भनिएको छ।

त्यस्तै, असोज ९ गते आवश्यकताअनुसार विद्यालयको पठनपाठन रोक्न तथा तोकिएका परीक्षा स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन पनि आग्रह गरिएको छ।

अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति र औषधि–सामग्री तयारी अवस्थामा राखी आकस्मिक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा आवश्यक खाद्यान्न मौज्दात कायम राख्न तथा राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको आपूर्ति गर्न तयारी गरिएको छ।

मौसमको अवस्थालाई बहाना बनाएर कृत्रिम अभाव, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्नेविरुद्ध बजार अनुगमन गरी कारबाही गर्न निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणमार्फत देशभर एसएमएस अलर्ट पठाइएको छ। स्थानीय सञ्चारमाध्यमबाट मौसमसम्बन्धी सूचना र सावधानीका उपाय नियमित प्रसारण गर्न निर्देशन दिइएको छ।

प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना मात्र आधार मानी सतर्क रहन आग्रह गरेका छन्।

आपत्कालीन अवस्थामा हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, स्वास्थ्य हेल्पलाइन १११५ तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा सम्पर्क गर्न उनले आग्रह गरेका छन्। मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गर्न सकिनेछ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १० : ११ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने