पाल्पा । लगातारको वर्षाका कारण पाल्पाका दुई छुट्टाछुट्टै सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोका कारण मुख्य तथा ग्रामीण सडकमा यातायात आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका-५ स्थित चरचरे र जोरधाराको बीचमा पर्ने सिद्धार्थ राजमार्गमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । वर्षासँगै पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । सडक खुलाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी रिब्दीकोट गाउँपालिका-५ को माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिकातर्फ जाने भित्री सडकखण्डमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले पाल्पाका मुख्य तथा ग्रामीण सडकखण्डमा थप पहिरो खस्ने जोखिम कायमै रहेको भन्दै प्रहरीले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
















प्रतिक्रिया